कहिले पाउँछन् जाजरकोटवासीले प्रभावकारी उपचार सेवा ?

प्रकाशित मिति : २०७२ मङ्सिर ११ शुक्रबार
हेमन्त केसी। जाजरकोट । यहाँको खगेनकोट–५ की हैकली खत्रीको गत कात्तिक ५ गते अकालमा मृत्यु भयो । उहाँलाई अस्पतालमा लैजानुको साटो धामी र झाँक्रीको भरमा पर्दा ज्यान गएको स्थानीयवासी शिक्षक नेत्र केसीले बताउनुभयो । करिब तीन महिनाअघिदेखि पेट दुख्ने समस्याबाट पीडित हैकलीको मृत्यु हुनुभन्दा आठ दिनअघि मात्र रुकुमको आठबिसकोट राडीस्थित मेडिकलमा लगिएको थियो । मेडिकलमा लगे पनि त्यहाँ उपचार हुन नसकी बाहिर लैजान स्वास्थ्यकर्मीले आग्रह गरेपछि हैकलीलाई नेपालगन्ज लैजाँदै गर्दा कात्तिक ५ गते बाटोमै ज्यान गयो । 
 
समयमा सुरक्षित सुत्केरी सेवा नपाउँदा जाजरकोट नायकवाडा–२ जिरीकी १७ वर्षीया मैसरी सार्कीको पनि १७ कात्तिकमा मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा मृत्यु भयो । सुत्केरी बेथा लागेपछि उनलाई स्थानीय सिलिङ्गीचौर स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ स्वाथ्यकर्मीले सुत्केरी गराउन नसकेपछि अर्को दिन रोकाय गाउँको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । त्यहाँ पनि सुत्केरी गराउन नसकेपछि उनलाई मिसन अस्पताल चौरजहारी रिफर गरिएको थियो । 
 
डोकामा तीन दिन पैदल बोकेर चौरजहारी अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर मृत बच्चा निकालेका थिए । डा निर्मोत लिम्बूले उनको बच्चा पहिले नै मरिसकेको हुँदा बच्चा कुहिएर पाठेघर नै कुहिएको अवस्थामा रहेको बताउनुभयो । अत्यधिक रक्तस्रावका कारण रक्तअल्पता भएको र अन्तिम अवस्थामा अस्पताल ल्याइएकाले महिलाको ज्यान जोगाउन नसकेको डा लिम्बूले बताउनुभयो । 
 
सानै उमेरमा सुत्केरी भएको र अत्यधिक रक्तस्रावले गर्दा शरीरमा रगतको अभाव भएकाले उनले अकालमा ज्यान गुमाउनुपरेको डा लिम्बूको भनाइ छ । त्यस्तै, जिल्लाको भेरीमालिका नगरपालिका–४ की २४ वर्षीया विनिता सिंहले उपचारका क्रममा बिहीबार शिक्षण अस्पताल, काठमाडौँमा ज्यान गुमाउनुपर्‍यो । तिहारमा दाजुभाइलाई टीका लगाउन भनी माइतीघर ढिमे जहरगाउँ गएकी विनितालाई २४ कात्तिकमा एक्कासि पेट दुख्यो । ग्यास्ट्रिकको समस्या भएकी उनी स्थानीय मेडिकलमा गएर समस्या सुनाइन् । 
 
स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने सुई लगाइदिए । केही समय सन्चो भएको जस्तो भयो अनि फेरि उनको पेट दुख्न थाल्यो । त्यसपछि स्थानीय धामीझाँक्रीलाई बोलाइयो । धामीले भूतप्रेत लागेको भन्दै दुईवटा बोका बलि चढाउन लगाए तर उनको पीडा घटेन । त्यसको चार दिनपछि डोकोमा बोकेर जिल्ला अस्पताल जाजरकोटमा पुर्‍याइयो । जिल्ला अस्पतालका डा दीपक पुनले एपेन्डिसाइटिसको शङ्का गर्दै तत्काल सुविधासम्पन्न अस्पतालमा लैजान भने । त्यसपछि विनितालाई रुकुमको चौरजहारीस्थित मिसन अस्पतालमा पुर्‍याइयो, त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगन्ज हुँदै शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइयो । त्यतिबेलासम्म उपचार गर्ने समय निकै घर्किसकेको थियो ।
 
पेटभित्रको आन्द्रा फुटिसकेको रहेछ । बचाउने झिनो आशाले चिकित्सकले शल्यक्रिया गरे तर बचाउन सकेनन् । पति जनक सिंहले भने, “म घरमा थिएँ । उनी माइतीमा थिइन् । उनलाई केही वर्षदेखि ग्यास्ट्रिकको समस्या थियो ।” “तिहारको बेला चिल्लो खाएर ग्यास्ट्रिक बल्झेको होला भन्ने लाग्यो तर अवस्था जटिल भइसकेको रहेछ,” उहाँले समयमा रोग खुट्याउन नसक्दा र जिल्लामै उपचार गर्ने भरपर्दाे स्वास्थ्य संस्था नहुँदा विनिताले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो । 
 
सामान्यतया एपेन्डिसाइटिसको लक्षण देखिएको ७२ घन्टाभित्र शल्यक्रिया गर्न नसकिए बिरामीको ज्यान जानसक्ने खतरा बढी हुने चिकित्सकको भनाइ छ । जाजरकोटमा नागरिकले दाँत निकाल्नेदेखि जटिल खालको सुत्केरी, हात भाँचिएको सम्म उपचार नहुँदा जिल्लावासी दैनिक हैरान भएका छन् । 
 
यी त प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा बर्सेनि समयमा उपचार नपाउँदा थुप्रै गर्भवती महिला र अन्य रोगबाट ग्रसित नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् । वर्तमान संविधानले स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ, तर जाजरकोटजस्ता दुर्गमका बासिन्दा अझै पनि यातायातको अभाव, भौगोलिक विकटता, दक्ष स्वास्थ्यकर्मीको अभाव, बर्थिङ सेन्टर र सुविधा सम्पन्न स्वास्थ्य संस्था तथा सेवाको अभावमा धेरै मानिसले अकालमा मृत्युवरण गर्नु परिरहेको छ । 
 
यहाँका दुर्गम स्वास्थ्य संस्थामा सिटामोल पाउन पनि मुस्किल हुने गरेको छ । स्थानीयस्तरमा जथाभावी खुलेका मेडिकलमा कडाखालको औषधि प्रयोग गर्दा कम डोजको औषधिले काम नगर्ने समस्या रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।
नयाँ