arrow

भारतले छिमेकीको घाँटी निमोठ्यो : नेता नेपाल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
463216739.jpeg
गाईघाट (उदयपुर) । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताउनुभएको छ । पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको अनुगमन गर्न आज उदयपुर आइपुग्नुभएका नेता नेपालले प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो – “अहिले नेपालीले राम्रो संविधान बनाएबापत घनिष्ट मित्र भनिने छिमेकी भारतले उपहारस्वरुप घाँटी निमोठेको छ । यो नै सबैभन्दा ठूलो विडम्बना हो ।” 
 
आफूहरु हिन्दूहरु भएको दाबा गर्ने भारतीय सरकारले अधिकांश हिन्दू नेपाली बसोबास गरेको नेपालमा सीमा नाका बन्द गरेर आर्थिक रुपमा घाँटी निमोठेको नेता नेपालको भनाइ थियो । नेता नेपालले भन्नुभयो – “अहिले नेपालमा सबैले संविधानमा बराबरी अधिकार पाए पनि सबैभन्दा बढी अधिकार मधेसीले पाएका छन् । छुट्टै मधेस प्रदेश पनि मधेसीले नै पाएका छन् ।” अहिले संयुक्त मधेसी मोर्चाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । 
 
वर्तमान संविधानमा केही कमजोरी रहेको भए संविधान संशोधनबाट त्यसलाई सच्याउन सकिने नेता नेपालले बताउनुभयो । आन्दोलनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भइआएकाले अब सुनसरीको चतरा हुँदै उदयपुर, सिन्धुली भएर राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको स्तरोन्नति गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने पनि नेता नेपालले बताउनुभयो । 
 
यसका लागि आफू सहितका टोलीले अहिले वैकल्पिक राजमार्गको संयुक्त अनुगमन तथा अध्ययन गरेको र काठमाडौँ फर्केर सरकारलाई तुरुन्त यसको सुधारका लागि ध्यान आकर्षण गर्ने पनि नेता नेपालले जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारलाई खुलेर सहयोग गर्न पनि प्रतिपक्ष दल नेपाली काँग्रेससँग अनुरोध गर्नुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ