- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल लगातार दोस्रो जितसहित तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको छ । सोमबार राति मालेको मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै लगातार दोस्रो जितसहित शीर्ष स्थानमा रहन सफल भएको हो ।
नेपालले खेल ३–२ गोल अन्तरले जित्यो । यो जितसहित नेपाल पहिलो पटक साफ च्याम्पियनशिपको फाइनल नजिक पुगेको छ ।
नेपाललाई जिताउन सुमन लामा, अन्जन विष्ट र आयुष घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।
खेल विवरण
खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाए । उनको यो नेपालका लागि डेब्यु गोल हो ।
खेलको ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।
खेलको ५७ औं मिनेटमा ह्यामिल्टनले २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए ।
८६ औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुषले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । आयुषको नेपालका लागि पहिलो गोल हो ।
खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गर्दै ३–२ को स्थितिमा ल्याए । त्यसपछि समय पनि सकियो र नेपालले जित पनि निकाल्यो ।
यो खेलमा मनिष डाँगी भने गोल गर्न चुके । ७४ औं मिनेटमा गोलकिपरसँग वान भर्सेस वानको स्थितिमा हुँदासमेत उनले गोल गर्न सकेनन् ।
उनकै गोलमा नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १–० गोल अन्तरको जित निकालेको थियो । नेपालले माल्दिभ्सलाई २२ वर्षपछि साफमा हराएको थियो ।
अंक तालिका
यस जितसँगै अंक नेपाल तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको छ । शतप्रतिशत खेलेको नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । लगातार दुई हारसँगै श्रीलंकाको फाइनल यात्रा लगभग सकिएको छ ।
अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार खेल्नेछ । पाँच टोली सहभागी रहेको प्रतियोगिताको सोमबारको खेलमा भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ ।
लिगमा पाँच वटै टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
बंगलादेश २ खेलबाट ४ अंकसहित दोस्रो, भारत १ खेलबाट १ अंकसहित तेस्रो, माल्दिभ्स १ खेलबाट अंकविहीन हुँदै चौथो तथा श्रीलंका दुई खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।