arrow

साफ च्याम्पियनशिप

नेपाल र भारतबीच भिडन्त, इतिहास रच्न नेपाल आतुर 

नेपाल जित्दा फाइनल पुग्ने, भारत हार्दा बाहिरिने सम्भावना हुने 

logo
गिब्सनकुमारी वर्देवा,
प्रकाशित २०७८ असोज २४ आइतबार
football-almutairi-kiran.jpg
तस्वीर–प्रशिक्षक अलमुताइरी (बायाँं) र कप्तान किरण (दायाँ) ।

काठमाडौं । माल्दिभ्समा चलिरहेको साफ च्याम्पियनशिप फुटबल अन्तर्गत नेपालले आइतबार भारतविरुद्ध खेल्दैछ । राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ शुरु हुनेछ ।

पहिलो पटक साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । भारत विरुद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

उनले प्रिम्याच कन्फ्रेन्समा भनेका छन्, ‘भारत विरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ । भारत यस क्षेत्रको उत्कृष्ट टिम हो । उनीहरु ७ पटकको च्याम्पियन हुन् ।’ तर आशा भने उनले छाडेका छैनन् । भन्छन्, ‘मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ । ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ । तर मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ ।’

कप्तान किरण चेम्जोङ भने भारतलाई जित्ने लक्ष्यकै साथ मैदानमा उत्रने बताएका छन । उनले भने, ‘भारत विरुद्धको खेलका लागि राम्रो तयारी गरेका छौँ । भारत विरुद्धको खेल कठिन छ । हामी चरणबद्ध अघि बढिहेका छौँ । हामीले दुई चरण पार गरिसकेका छौं ।’ 

नेपाल–भारत हेड टु हेड
भारतविरुद्ध नेपालले अहिलेसम्म २१ खेल खेलेको छ । जसमा भारत हाबी छ । भारतले १४ खेल जितेको छ । नेपालले २ खेल जितेको छ । पाँच खेल अहिलेसम्म बराबरीमा सकिएको छ ।

नेपालले गत भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

मालेको समीकरण
भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । त्यसैले पनि समीकरण महत्वपूर्ण रहेको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई २२ वर्षपछि हराउने क्रममा १–० गोल अन्तरको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले हराएको थियो । 

नेपालले भारतलाई हराउना साथ पाँच टोली सहभागी प्रतियोगिताको फाइनलमा पुग्नेछ । साफको सर्वाधिक सफल (सात पटकको च्याम्पियन) टिम भारतले दुई खेलमा बराबरी खेलेको छ । 

पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । भारत पनि दबाबमा छ । यो खेल हार्दा भारत पनि प्रतियोगिताबाट बाहिरिने सम्भावना हुन सक्छ । 

भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ । माल्दिभ्स २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । श्रीलंका ३ खेलमा १ अंक जोडेर पुछारमा छ । 

नेपाल अहिलेसम्म सबैभन्दा बलियो देखिएको छ । त्यस्तै भारत दबाबमा छ । नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन । 



नयाँ