arrow

राष्ट्रिय आमसञ्चार नीति स्वीकृत; विदेशी टीभी च्यानलमा विज्ञापन नहुने

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय आमसञ्चार नीति, २०७३ स्वीकृत गरेको छ । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही साउन ५ गते आफ्नो प्रतिवेदन बुझाएको थियो । 
 
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्रिपरिषद्को २०७२ माघ १० मा गठित समितिले दिएको सुझावका आधारमा सो नीति स्वीकृत गरिएको जानकारी दिनुभयो । 
 
समितिका अध्यक्ष काशीराज दाहालले हस्तान्तरण गर्नुभएको प्रतिवेदनमा सञ्चारमाध्यममा हुने लगानीको पारदर्शीता, श्रमजीवी पत्रकारको हक अधिकार, मिडियाको पुनः संरचनालगायत विषय छन् । 
 
प्रतिवेदनले आमसञ्चारसम्बन्धी नियामक निकायको सम्बन्धमा राष्ट्रिय आमसञ्चार प्राधिकरण, सार्वजनिक सेवा प्रसारक नेपाल, विज्ञापन परिषद्को स्थापनाका साथै प्रेस काउन्सिलको भूमिका र संरचनामा सुधार गर्न सुझाएको थियो । सरकारका प्रवक्ता मन्त्री राईले ती विषय अब कार्यान्वयनमा आउने बताउनुभयो । 
 
विज्ञापनमा ‘क्लिन फिड’ नीति 
 
बैठकले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको छ । 
 
यो नीतिले विदेशिएको विदेशी मुद्रा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउनेछ । यो नीति नेपालभित्र प्रसारित हुने टेलिभिजनका विज्ञापनमा लागू हुनेछ । 
 
आधुनिक वीर अस्पतालका लागि जग्गा 
 
सरकारको नीति कार्यक्रम र बजेट तथा संसद्बाट पारित विनियोजन विधेयकमा उल्लेख भएअनुसार अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, आधुनिक र विश्वसनीय वीर अस्पताल निर्माण गर्न भक्तपुरको दुवाकोटमा करिब ७०० रोपनी जग्गा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । 
 
युरोनियमको सुरक्षा सेनाले गर्ने 
 
बैठकले मुस्ताङको लोमान्थाङस्थित युरोनियम रहेको स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । 
 
यसैगरी, चीनको चोङ क्युङ सहरका लागि अवैतनिक नेपाली वाणिज्य दूतमा चिनियाँ नागरिक कोङ म्यान तिनलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री राईले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ