arrow

सुशील कोइराला र महन्थ ठाकुरबीच भेट, वर्तमान गत्यावरोध हटाउने समझ्दारी

logo
हाम्रा कुरा
प्रकाशित २०७२ मंसिर ११ शुक्रबार
काठमाडौं । अमेरिकाबाट उपचार गर फर्केका कांग्रेस सभापति सुशील कोइरालाले नेपाल आएको भोलिपल्ट शुक्रबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गरेका छन् । 
 
कोइराला बस्दै आएको महाराजगन्जस्थित शशांक कोइराला निवासमा ठाकुर र कोइरालाबीच  छलफल भएको हो । एक घण्टे भेटका क्रममा पुराना सहपाठी ठाकुरसंग कोइरालाले वर्तमान राजनीतिक गत्यावरोध हटाउन छलफल गरे । 
 
विगत केही दिन यता सरकारी वार्ता टोली, तीन दल र मधेसी मोर्चाबीच कुनै सम्वाद भएको छैन । मधेसमा आन्दोलनरत मधेसी मोर्चामा आवद्ध नमलोपा नेता ठाकुरले भेटपछि मोर्चासंगको वार्तालाई तिब्रता दिनेमा समझदारी भएको सुनाए । 
 
छिट्टै औपचारिक वार्ता हुने जनाउँ दिएका ठाकुरले कहिले सम्म समस्या सुल्झाउने भन्ने बारे केही भनेनन् । कोइरालाले आन्दोलन रोकेर भए पनि समस्या समाधान गर्नुपर्नेमा जोड दिएको भेटपछि ठाकुरले–भने । 
 
आन्दोलन र नाकाबन्दीको चर्को मारमा रहेको नेपाली समाज आक्रान्त भइरहेका बेला दलहरुले निर्णायक वार्ताको तिथि खोज्न सकिरहेका छैनन् ।  कांग्रेस सभापति कोइराला क्यान्सर उपचारका लागि एक महिनाअघि अमेरिका गएर बिहीबार मात्रै नेपाल कmर्केका थिए । ठाकुर समेत विरामी परेका छन् । उनको दाँतमा समस्या भएपछि केही दिनयता बाहिर देखिएका थिएनन् ।
 
भारतको समर्थनमा मधेस आन्दोलनः नेतृ कोइरालाकाठमाडौ । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले भारतको समर्थनमा मधेस आन्दोलन भईरहेको दावी गरेकी छिन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ काग्रेस र एमालेसहितका ठूला दलले गरेको आन्दोलन त उठ्न चार वर्ष लाग्यो भने अहिले मधेसीले भन्ने वित्तिकै आन्दोलन भयो भन्ने मलाई विश्वास लाग्दैन । मलाई मधेसीले आन्दोलन गरे भन्ने लाग्दैन । यसभित्र ठूलो षडयन्त्र छ । भारतको समर्थन विना यसरी आन्दोलन चर्किदैन ।’
 
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा नेतृ कोइरालाले राजेन्द्र महतोले हामी कुनै पनि कुरामा भारतसँग सल्लाह गरेर मात्रै गर्छौ भनेर भन्नु र आफूलाई कार्यकर्ताहरुले भारतीयहरु आन्दोलन गर्न धमाधम आएको भनि जानकारी दिनुले यसमा भारतको समर्थन रहेको देखिने बताईन । उनले भनिन,‘नेपाली जनताले गरेर मधेस आन्दोलन भएको होईन । मोर्चाले यत्रो आन्दोलन गर्नै सक्दैन । यसमा धेरै चलखेल छ । अहिलेको अडान राख्ने तरिकाले समस्या समाधान हुँदैन । मधेसी जनताले धैर्य राख्न सक्नु पर्छ ।’
 
अहिले नै सीमांकन टुङगिएर समस्या समाधान हुने आफूले नदेखेको भन्दै सुनसरी र मोरङ्गका जनताले आफ्नो जिल्ला टुक्राए कडा आन्दोलन गर्ने ठोकुवा गरिन । उनले भनिन,‘ सुनसरी मोरङ्गका जनताले हामी टुक्रिदैनौ, दुई नम्बर प्रदेशमा जान्नौ भनेका छन । त्यो भए ठूलो आन्दोलन हुन्छ ।’नेतृ कोइरालाले नेपाली काग्रेसले दर्ता गराएको संसोधन प्रस्ताव अगाडि बढाएपछि मधेसी मोर्चाको आन्दोलन रोकिन्छ कि रोकिदैन, नाकाबन्दी खुल्छ कि खुल्दै भन्ने कुरा महत्वपूर्ण हुने भन्दै  सरकार कडा रुपमा प्रस्तुत हुनु पर्ने बताईन । 
उनले सीमांकन अहिले टुङगिन नसक्ने भन्दै अहिले नै टुङग्याउन खोजे अर्को ठूलो आन्दोलन हुने ठोकुवा गरिन । 
 
नेतृ कोइरालाले गिरिजा प्रसाद कोइरालाले भने जस्तो पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउदा राम्रो हुने भन्दै मधेसमा दुई प्रदेश जनताले नचाहेको दावी गरिन । उनले मुलुकको समस्या समाधान गर्न सबै दलहरु मिलेर अघि बढ्नु पर्ने मा जोड दिदै काग्रेसभित्र पनि अहिले गल्ती गरिएछ भनेर विश्लेषण हुनथालेको बताईन । नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपालमाथिको नाकाबन्दी मधेसी मोर्चाको मात्र नभएको दावी गर्दै भारतले असुरक्षाको नाममा अवरोध गरेर नेपालमा माईक्रो म्यानेजमेन्ट गर्न खोजिरहेको दावी गरे । 
 
उनले भने,‘ रक्सौल नाकामा रहेका ट्रक रि रुट गरेर अरु नाकाबाट ल्याउँ भन्दा भारत मान्दैन । जवकी रि रुट गरे नेपालमा कुनै मानवीय संकट उत्पन्न हुँदैन । यसमा भारत सकारात्मक भए समस्या छैन ।’पोख्रेलले भारतले आफ्नो सुरक्षाको चासोको लागि एक समूदायलाई साथ लिने कुरा गलत भएको भन्दै सिंगो नेपालसँग मित्रता गर्न सकेमात्रै भारतको त्यस्तो चाहना पुरा हुन सक्ने बताए । उनले नाकाबन्दीले नेपाल मात्रै प्रभावित नभई भारत समेत प्रभावित भईरहेको दावी गर्दै भारतीय उत्पादन समेत प्रभावित भईरहेकोले दवाव बढ्दै गएपछि सबै ठाँउमा आउने विश्वास ब्यक्त गरे ।पोख्रेलले समस्या समाधान हुन्छ भने नेपाली काग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संसोधन प्रस्ताव अगाडि बढाउन तयार रहेको भन्दै संसोधन प्रस्तावमा आफूहरुको असहमति नभएको बताए । 
 
उनले मधेसी मोर्चाले मान्दैन भन्दैमा अरुले कसैको कुरा मान्नु जायज नभएको उल्लेख गर्दै भने,‘ कसैले मधेस स्वतन्त्र देश माग्दैमा हामीले मान्नु पर्छ भन्ने छ र । मधेसीहरु अहिले मधेसमा आफ्नो गुमेको साख बलियो बनाउन मधेसी भर्सेज पहाडीको विभाजन गर्न खोज्दैछन । यस्तो गर्दै गए मधेसी मोर्चाको हातबाट आन्दोलन फुत्किन्छ । होस गरे हुन्छ ।’
सीमांकनको विषय संघीय आयोग वा राजनीतिक समिति बनाएर टुङग्याउन तयार रहेको स्पष्ट पार्दै पोख्रेलले मधेस दुई प्रदेशको एजेण्डा लिएर गएका मधेसी दलको एजेण्डा चुनावबाट असफल भईसकेकोले त्यो प्रकट भईसकेको जनमतमलाई स्विकार्नु पर्ने बताए । 
 
उनले समानुपातिक आयोग बनाउने मधेसी मोर्चाकै सहमति भएकोले पछि विभिन्न आयोग बनाउँदा त्यसको कार्यविधी लेख्न नसकिएको, लक्ष्मणलाल कर्ण संयोजक रहेको उपसमितिले नै एकीकृत न्यायपालिका बनाउने गरि गरेको सहमतिको आधारमा न्यापालिका राख्ने ब्यवस्था गरेको, समानुपातिक समावेशी र जनसख्याको आधारमा निर्वाचन क्षेत्र राख्ने कुरामा सबै सहमत भईसकेको भन्दै संघीयतालाई संविधानसभाले अपनत्व उनीहरुकै माग अनुसार लिएर आफ्नो निर्णय गर्दा नमान्नु आश्चर्य जनक रहेको तर्क गरे । 
कृषि मन्त्री एवम एमाओवादी कोषाध्यष हरिबोल गजुरेलले सीमांकनको विषय सामान्य विषय नभएकोले अहिले नै हल हुन्छ भन्ने आफूलाई नलागेको भन्दै प्रयाप्त दवाव पुगेपछि सबै थाकेर सहमति बन्न सक्ने बताए । 
 
उनले भने,‘सीमांकन अहिले नै टुङगिने सम्भावना देख्दिन । झनै झापा, मोरङ, सुनसरीको विवाद त अहिले टुङगिनै सक्दैन । बढी विवाद हुनेलाई अहिले छाडेर कम विवाद हुने विषयलाई समाधान गरि अघि बढ्नु पर्छ । गजुरेलले थारुहरुलाई अन्याय परेकोले अहिलेले विवाद मिलाउन सकिने र त्यसै अनुसार पार्टीले प्रयत्न गरिरहेको भन्दै पश्चिमका पहाडी क्षेत्र ४ नम्बर प्रदेशमा राखेर थरुहटको विवाद मिलाउन सकिने बताए । उनले काग्रेस महासधिवेशनसम्म अहिले नै केही पनि टुङग्याउने पक्षमा नभएको भन्दै विगतमै समानुपातिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको विषय नटुङग्याउँदा अहिले समस्या आएको बताए । 
 
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले विवादित जिल्लाको विवाद जनमत संग्रहबाट टुङग्याउने प्रस्ताव आफुहरुलाई मान्य नभएको स्पष्ट पार्दै भोलीको दिनमा जनमत संग्रहको पोको खुले हिन्दु धर्म, राजसस्था र विखण्डनको माग आए के जनमत संग्रह गर्ने भनि प्रश्न गरे । उनले भने,‘ जनमत संग्रहको कुरा गरे देश बर्बाद हुन्छ । ’
चुरे देखि दक्षिण र भारतको सीमा देखि उत्तर पूर्व पश्चिम आफूहरुलाई दुई प्रदेश चाहिने भन्दै अहिले चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाललाई सरकारले आफूहरु विरुद्ध प्रयोग गरिरहेको आरोप लगाए ।
 
कर्णले भने,‘सरकार चुरेभावर आन्दोलन उठाउँदैछ। चुरे भावर आन्दोलन विगतमा पनि सरकारले गरेको र उनीहरुसँग शान्ति मन्त्रीले मात्रै सम्झौता गरेकोले त्यो लागु हुन सक्दैन । हामीसँग राष्ट्रप्रमुखले सम्झौता गरेको हो। ’उनले सरकारले बार्ताको टेवलमा उपयूक्त प्रस्ताव ल्याए आफूहरु बार्ताबाट समस्या समाधानकोलागि तयार रहेको स्पष्ट पार्दै सीमांकन नभई आन्दोलन नछाड्ने स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ