arrow

थ्रीस्टार लयमा, हिमालयन र संकटाले बाँडे अंक, दाबेदार मनाङ आज भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
a-division-league-himalayan.jpg

काठमाडौं । थ्री स्टार क्लबले शही स्मारक ए डिभिजन लिग फुटबलमा उत्कृष्ट शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अर्को ललितपुरे क्बल च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उत्कृष्ट शुरुआत गरेको हो । 

थ्री स्टारलाई जिताउन निशान खड्का, राफायल बिडियास रिम र अनन्त तामाङले एक एक गोल गरे । खेलको २२ औं निशानले गोल गरेका थिए । 

४४ औं मिनेटमा हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेड मार्फत गोल गरे । ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । 

२६ औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । उसका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

हिमालयन र संकटाको खेल
शनिबार नै भएको खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । 

खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई शुरुआती अग्रता दिलाएका थिए  ।

सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गरे । रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने ।

६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए  । 

अंक तालिका 
थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएको छ । च्यासल पुछारमा छ । 

उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्स क्लबले बराबरी खेल्दै अंक बाँडेका थिए र १–१ अंक पाएका थिए । हिमालयन र संकटाले पनि १–१ अंक बाँडेका हुन् । 

आइतबारका खेल
लिग अन्तर्गत आइतबार दुई खेलहरु हुने छन् ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।



नयाँ