arrow

पहिलो मोफसलको ए डिभिजन भिडन्तमा मनाङलाई फाइदा, पुलिस ३–१ ले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
a-division-manang-police-pokhara.jpg

पोखरा । घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा कप्तान अन्जन विष्टको २ तथा वैकल्पिक खेलाडी  निशान लिम्बूको १ गोलमा मनाङले पुलिसलाई ३–१ अन्तरले हराएको हो । 

घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि रोकिएको मनाङ दोस्रो हाफमा पुलिसविरुद्द दुई गोल गर्न सफल भयो । खेलमा पहिलो गोल अन्जनले गरे । डिफेन्डर दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिसन रहदा बल पाएका अन्जनले  खाली पोष्टमा सहज गोल गरे ।

३५औँ मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन् ।

७३औँ मिनेटमा अञ्जनले फ्रिकिकमार्फत दोस्रो गोल गर्दै अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रिकिक पाएको थियो ।

अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो । खेलको ८३ मिनेटमा मनाङले ३-१ को अग्रता बनायो । वैकल्पिक खेलाडी निशान लिम्बूले पनि गोल गरे । ओलावालेको प्रहार गोलरक्षक रोशनले पन्च गरेको रिबाउण्डमा निशानले गोल गरेका थिए । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ए डिभिजन लिगलाई मोफसलमा लगेको हो । घरेलु मैदानमा पहिलो खेलमै मनाङ ३ अंक जोड्न सफल भयो । जितसँगै मनाङको पाँच खेलबाट १३ अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११  अंक छ । पराजित पुलिसको पाँच खेलबाट ५ अंकसहित आठौँ स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ