arrow

उपत्यकामा तीन हजार ३५० ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
818090346.jpeg
काठमाडौँ । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी तीन हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार थप गर्न लागिएको ट्याक्सीमा व्यवसायीलाई ६५०, आम नागरिकलाई ७०० र स्वरोजगार मजदुरका लागि ५०० ट्याक्सी दर्ता प्रक्रिया रहेका छन् । ट्याक्सी व्यवसायीका लागि ब्लू बुक, आम नागरिकका लागि नागरिकता र स्वरोजगारलाई स्वरोजगारको प्रमाणपत्र आवश्यक पर्ने विभागका प्राविधिक निर्देशक नवीनकुमार पोखरेलले जानकारी दिनुभयो । 
 
“तीनै थरीका लागि आह्वान गरिएको निवेदनअनुसार ट्याक्सी व्यवसायीलाई मागेभन्दा कम अर्थात् ६३४ निवेदन मात्र आएकाले ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ”, उहाँले भन्नुभयो । आम नागरिकका लागि ७०० निवेदन माग गरिएकामा सात हजार ९०७ आवेदन परेकाले असोज आज बिहान १० बजेबाट बालकुमारीको च्यासल फुटबल मैदानमा गोलाप्रथाद्वारा छनोट प्रक्रिया सुरु भएको छ । 
 
गोलाप्रथाद्वारा गरिने छनोट प्रक्रियाको बिहान १० देखि दिउँसो ५ बजेसम्म टिभी टुडेबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि विभागले जनाएको छ । असोज २९ गते सोही स्थानमा स्वरोजगारका लागि पनि गोलाप्रथा गरी प्रत्यक्ष प्रसारण छनोट गरिने भएको छ । स्वरोजगारलाई ५०० निवेदन माग गरिएकामा करिब सात हजारको आवेदन दर्ता भएको छ । 
 
यो प्रक्रिया सकेपछि भूकम्पपीडितका लागि ५००, डिलक्स ५०० र सुपर डिलक्स ५०० ट्याक्सी दर्ताको प्रक्रिया थाल्ने विभागले जनाएको छ । हाल उपत्यकामा पाँच हजार ६५० ट्याक्सी सञ्चालनमा छन् । विसं २०५७ पछि पहिलोपटक सरकारले ट्याक्सी दर्ता खुला गरेको हो । यो प्रक्रिया सकेपछि उपत्यकामा ट्याक्सीको सङ्ख्या नौ हजार पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ