arrow

दोलखाको पुल तथा सडक तत्काल मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
dolkhasamaj.jpg.jpeg
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले दोलखा जिल्लामा बाढी पहिराका कारण क्षति पुगेका सडक तथा पुल तत्काल मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई निर्देशन दिएका छन् । 
 
नेकपा (माओवादी केन्द्र) सम्बद्ध दोलखाका प्रतिनिधिमण्डलले दोलखा जिल्लामा बाढीपहिराले पुल तथा सडक बगाएका विषयमा ध्यानाकर्षण गराउनेबित्तिकै प्रधानमन्त्रीले तत्काल मर्मतसम्भार गर्न र धोढीखोलामा बेलीब्रिज हालेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् । 
 
भेटमा सहभागी नेकपा(माओवादी केन्द्र)का दोलखा जिल्ला अध्यक्ष विशाल खड्काले प्रधानमन्त्रीले समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई निर्देशन दिएको र सचिव कार्कीले एकाध दिनभित्रै बेलीब्रिज हाल्ने बताएको जानकारी दिए । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रतिनिधिमण्डलले तामाकोसीबाट मन्थली जाने धोढीखोलाको पुल केही दिन पहिलेको बाढीले बगाएको भन्दै तत्काल बेलीब्रिजको व्यवस्था गर्न अनुरोध गरेको थियो । 
 
प्रतिनिधिमण्डलले दोलखामा पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेकाबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । साथै प्रतिनिधि मण्डलले भूकम्पको पुनःनिर्माणबारे निर्माण गरिएको कार्यविधि अनुदार भएको भन्दै सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
 
भेटमा प्रधानमन्त्री दाहालले दोलखाको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्दै समस्या समाधान गर्ने विश्वास दिलाएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ