arrow

आयात अनुमति नदिंदा चिनीको मूल्य ९० रुपैयाँसम्म

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
sugar.jpg.jpeg
काठमाडौं । दिनहुँ भान्सामा आवश्यक हुने चिनीको बजार भाउ अकासिएको छ । विक्रेताका अनुसार अहिले प्रतिकिलो चिनी ८५ रुपैयाँदेखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । 
 
स्वदेशभित्रै मागअनुसार चिनी उत्पादन भइरहेको व्यावसायीले बताए पनि मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै चिनीको भाउ अकासिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।
 
 स्वदेशी उद्योगीले लागत बढेकाले मूल्यमा उतारचढाव आएको दाबी गरेका छन् । सरकारी संस्थानको तर्फबाट मूल्य नियन्त्रणका लागि बजार हस्तक्षेप गर्दै आएको साल्ट ट्रेडिङले केही समयपछि एक साताअघिबाट मात्रै बजारमा चिनी बिक्री थालेको छ ।
 
 महाप्रबन्धक उर्मिला श्रेष्ठले ३० हजार टन चिनी ग्लोबल टेन्डरबाट खरिद प्रक्रिया अघि बढाएको र ५ हजार टन ल्याइसकेको बताइन् । ‘स्वदेश भित्रिएको ५ हजार टन एक साताअघिबाट मात्रै बिक्री थालेका छौँ,’ उनले भनिन् । 
 
उनले अन्तर्राष्ट्रिय बजारमै चिनीको भाउ बढेकाले टेन्डरबाट पनि तुलनात्मक रूपमा महँगै मूल्यमा खरिद गरेको बताइन् । थप २ हजार ५ सय टन चिनी आयात प्रक्रियामा रहेको उनले जानकारी दिइन् । 
 
स्वदेशी चिनी उद्योगीले लागत बढेको बताएका छन् । चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले यो वर्ष उत्पादन घटेको, उखु सुक्न थालेपछि मात्रै खरिद गर्न पाएको र नाकाबन्दीका वेला महँगो मूल्यमा डिजेल खरिद गर्नुपरेका कारण लागत बढेको बताए । 
 
उनले भने, ‘उद्योगले ‘गेट प्राइस’ ६४ रुपैयाँ प्रतिकिलो निर्धारण गरेको छ, त्यसमा ढुवानी, डिलर कमिसन, भ्याटलगायत जोडिँदा मूल्य केही बढ्छ ।’ साउनमै मूल्य अकासिएकाले आसन्न दसैँ, तिहारमा मूल्य झन् बढ्ला कि भन्ने उपभोक्तामा चिन्ता बढेको छ । 
 
साल्ट ट्रेडिङले नबेच्दा मूल्य अनियन्त्रित गत माघदेखि साल्ट ट्रेडिङको चिनी बजारमा कम देखिन थालेको थियो । त्यसवेला चिनी मौज्दात सकिन लागेकाले आपूर्ति मन्त्रालयसँग खरिद गर्न स्वीकृति मागेको थियो, तर सरकारले बेवास्ता गर्‍यो । 
 
बजारमा साल्ट ट्रेडिङको चिनी सकियो । त्यतिवेला चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ थियो । साल्ट ट्रेडिङको चिनी बजारमा सकिएको थाहा पाएका व्यावसायीले जेठ आइपुग्दा मूल्य ८० रुपैयाँ प्रतिकिलो पुर्‍याए । 
 
असार दोस्रो हप्तादेखि पहिरोले बाटो अवरुद्ध बनाएका कारण ढुवानीमा समस्या देखाउँदै मूल्य ८५ देखि ९० पुर्‍याइएको छ । 
 
माघमा चिनी किन्न निवेदन लेखे पनि आपूर्ति मन्त्रालयले असारमा स्वीकृति दिएको थियो । त्यसलगत्तै साल्ट ट्रेडिङले ३० हजार टनको टेन्डर गरी ५ हजार ल्याइसकेको छ । 
 
साल्ट ट्रेडिङको  चिनी ८४ रुपैयाँ बजार भाउ अकासिएर चिन्तित बनेका उपभोक्ताले साल्ट ट्रेडिङबाट तुलनात्मक रूपमा सस्तो मूल्यमा खरिद गर्न पाउने अपेक्षा गरेका थिए । 
 
तर, साल्ट ट्रेडिङले पनि चलनचल्तीको भाउमै बिक्री थालेको छ । ‘हामीले सातादेखि काठमाडौंमा उपलब्ध गराएको चिनी प्रतिकिलो ८२ रुपैयाँ ५० पैसादेखि ८४ रुपैयाँसम्ममा बिक्री गरिरहेका छौँ,’ महाप्रबन्धक श्रेष्ठले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमै खरिद मूल्य बढेका कारण हामीले पनि धेरै मूल्य घटाउनै सकेनौँ ।’ 
 
बजारमा ८४ रुपैयाँ प्रतिकिलो मूल्यको चिनी बढी खपत हुने गरेको छ । बजारमा अहिले ९० रुपैयाँ प्रतिकिलोसम्म चिनी बिक्री भइरहेको जानकारी पाएको बताउँदै उनले भनिन्, ‘यो वर्ष ९० रुपैयाँभन्दा माथि जाँदैन ।’ 
 
०६६ मा अभावका कारण चिनीको मूल्य १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ