arrow

कोरला नाकाको अध्ययन गर्न संसदीय टोली सीमा क्षेत्र जाँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1359230346.jpeg
मुस्ताङ। चीनसँग सीमा जोडिएको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सञ्चालनको सम्भाव्यता अध्ययन गर्न संसदीय टोली मुस्ताङ आइपुगेको छ । व्यवस्थापिका–संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, धौलागिरि अञ्चलका सांसद, मुस्ताङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको टोलीले नाका सञ्चालन गर्न सकिने वा नसकिने, भौतिक पूर्वाधार, सडकको अवस्थाका विषयमा विस्तृत अध्ययन गर्नेछ । आज उपल्लो मुस्ताङ हिँडेको टोलीले दुई दिन नाकाको सम्पूर्ण अध्ययन गर्ने र स्थानीयवासीसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ । 
 
अघोषित भारतीय नाकाबन्दीका कारण देशभरको जनजीवन अस्तव्यस्त बनिरहेको सन्दर्भमा चीनसँग सीमा जोडिएको उक्त नाका सञ्चालन गर्न सके इन्धन, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री त्यसैबाट आयात–निर्यात गर्न सकिने अवस्था छ । मुस्ताङलगायत धौलागिरि अञ्चलका उद्योगी व्यवसायी, नागरिक समाज, स्थानीयसवासी लगायतको हालै बेनीमा सम्पन्न बृहत् छलफलले नाका सञ्चालन गर्न सके देशलाई दीर्घकालीन रुपमा धेरै फाइदा हुने निष्कर्ष निकालेका थिए । १२ वर्षअघि सम्म सञ्चालनमा रहेको नाका चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै बन्द गरेको छ । 
 
उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणलाई निर्बाध आवतजावतको व्यवस्था भएपछि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ । नाकानजिकै अत्याधुनिक हतियारसहितका सुरक्षा क्याम्प राखेर सिसी क्यामेरामार्फत निरन्तर निगरानी बढाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संसदीय टोलीले सम्पूर्ण विषयको अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने बताउनुभयो । टोलीमा समितिका सदस्य, बाग्लुङका संसद् प्रकाश पौडेल, मुस्ताङका श्रीमायाँ थकालीलगायतका व्यक्ति सहभागी हुनुहुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ