arrow

१९ नेपालीलाई भारतमा मुद्दा, सुस्ताबासी असुरक्षित

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
Indian-Police.jpg.jpeg
नवलपरासी । नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपाली भारत जान असुरक्षित भएका छन् । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सार्वसाधारणलाई भारतीय प्रहरीले मुद्दा दर्ता गरेपछि उनीहरु भारत जान असुरक्षित बनेका हुन् । 
 
सुस्तामा बस्दै आएका २८ वर्षीय प्रभू लोनियाको गत असार १४ गते भारतीय भूमिमा सुस्ताबाट करिब ५० किमी टाढा रहस्यमय तरिकाले हत्या भएको थियो । सो हत्याको आरोपमा भारतीय प्रहरीले उनीहरुमाथिसमेत मुद्दा दर्ता गरेको छ । 
 
मुद्दालाई अदालत नपठाएसम्म भारतमा जाँदा ती सुस्तावासीलाई समस्या हुनसक्ने भन्दै ‘सुस्ता बचाऊ’ अभियानका अध्यक्ष गोपाल गुरुङले फाइल अदालत गएपछि मात्र मुद्दा दर्ता गरिएका सुस्तावासीले आफ्नो भनाइ राख्न पाउने बताए ।
 
यता यसबारे नवलपरासीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीले मृतकका परिवारलाई भारतीय प्रहरीले कागजमा लेखिएको व्यहोरा नै नदेखाई जबर्जस्ती सही गर्न लगाएको मृतकका आफन्तलाई उधृत गर्दै सञ्चारकर्मीलाई बताए । 
 
यस घटनाबारे नवलपरासी प्रशासनले गृहमन्त्रालयलाई समेत जानकारी गराइसकेको छ । प्रजिअ महादेव पन्थले भने– “यस कार्यालयको तर्फबाट यसबारे लिखितरुपमा मन्त्रालयमा पत्राचार गरिसकिएको छ । 
 
घटनास्थल भारत सुस्ताबाट निकै टाढा भएकाले पनि यो घटनामा मुद्दा दर्ता भएका सुस्तावासीको कुनै दोष नभएको अनुमान गर्न सकिन्छ । 
 
यद्यपि भारतीय प्रहरीले सुस्ताका सर्वसाधारणको नाममा मुद्दा दर्ता गरी अन्य सुस्तावासीलाई समेत त्रसित बनाउन खोजिएको आँकलन गरिएको छ । 
 
सुस्तावासीमाथि पटक पटक भारतीय पक्षबाट हुँदै आएको आतङ्कित पार्ने प्रवृत्तिबाट सुस्तावासी निकै हैरान बनिसकेका छन् । 
 
अहिलेसम्म १४ हजार हेक्टर नेपाली भूमि भारतीय पक्षबाट अतिक्रमण हुँदासमेत राज्य भने मौन छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ