arrow

नेविसंघ महाधिवेशनः अपाङ्ग महिलालाई अगाडि सार्न मेरो दावेदारी–कल्पना खड्का

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
kalpana-khadka.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको शनिबार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । त्यसमा समावेशीको अपाङ्ग छात्रातर्फ केन्द्रीय सदस्यमा उठ्दै छिन् कल्पना खड्का । पद्मकन्या क्याम्पस बागबजारबाट समाजशास्त्रमा स्नातकोत्तर कल्पना पिके क्याम्पस स्ववियु सदस्य पनि हुन् ।
 
उनको स्पष्ट धारणा छ –‘राष्ट्रिय राजनीतिमा आउन समावेशी छानेकी हुँ । अहिले समावेशीबाटै पाइला टेक्छु । अर्को पटक महामन्त्रीमा उठ्ने हो ।’ २७ वर्षे कल्पनाले भनिन् ‘अपाङ्ग महिलालाई अगाडि सार्नका लागि मैले अहिलेको ११ औं महाधिवेशनमा सदस्यको दावेदारी दिएकी हुँ ।’
 
चुनावी मैदानमा एक दर्जनजति अपाङ्ग छन् । प्रतिनिधि भएर आउने मुस्किलले दुई दर्जन होलान् । यसमा कल्पनाको तीतो अनुभूति छ । उनी भन्छिन् ‘प्रतिनिधि भएर पठाउने बेलामै अपाङ्ग छ कसरी जान सक्छ भन्नेजस्ता तर्कबाट सुरु हुन्छ राजनीति, यसले गर्दा नै हामी पछि पर्यौं ।
 
महिला त झनै पीडा खेप्नुपर्छ ।’ उनी नेपाली काँग्रेस रामेछाप पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् । त्यस्तै कल्पना लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय कोषाध्यक्ष पनि छिन् । 
 
उनलाई जसरी पनि अपाङ्गहरु मेन स्ट्रिमको राजनीतिमा भएको देखाउने मन छ । त्यसैले आफूले कम्मर कसेकी छिन् । पार्टीले अपाङ्गलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । 
 
उनको कल्पनाको सागर भने निकै फराकिलो छ । के छ त ? उनी भन्छिन् ‘मानिसहरु सुरक्षित जीवनका लागि सरकारी जागिर खानुपर्छ भन्छन् । मलाई त्यसमा कुनै इच्छा छैन । म त राजनीतिबाटै माथि जाने हो । मेरो लक्ष्य मन्त्री बन्नेछ ।’
 
‘काँग्रेसबाट अपाङ्गहरु माथि नपुगेकैले त्यसको सुरुवात म आफैबाट गर्दैछु ।’ अहिलेको चुनाव जित्नेमा ढुक्क हुँदै कल्पना भन्छिन् ‘मैले जित्नुपर्छ ।’
 
कसरी अपाङ्ग भइन् त कल्पना
 
११ वर्षकी छँदा उनी ५ कक्षामा पढ्थिन् । रामेछापको गाउँमा उनी मिलमा गएकी थिइन् । मिलले उनको दाहिने हात नै खाइदियो । त्यसपछि अस्पताल लगिएकी उनी तीन महिनासम्म अस्पतालमै बस्नुपर्यो ।
 
पढाइमा केही वाधा पर्यो । लेख्ने बानी दाहिने हातको ठाउँमा देब्रेबाट पार्नुथियो । उनलाई केही समय त लाग्यो नै । तर उनमा इच्छाशक्ति भएकैले अहिले यहाँसम्म आइपुगिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ