arrow

सभापति कोइरालासँग मधेसी गठबन्धनको छलफल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
124517061.jpeg
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेसी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् । कोइराला निवास महाराजगञ्जमा आज भएको छलफलमा गठबन्धनका नेताहरुले तराई–मधेस र थरुहट क्षेत्रमा भइरहेको आन्दोलनको उचित सम्बोधनका लागि गठबन्धनले अघि सारेको संविधान संशोधनको नौ सुत्रीय मागका बारेमा ध्यानाकर्षण गराएका छन् । 
 
गठबन्धनले सभापति कोइरालालाई आफ्ना मागको बारेमा जानकारी गराउँदै त्यसमा सामान्य छलफलसमेत भएको तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले जानकारी गराउनुभयो । गठबन्धनका नेताहरुले मधेसको आन्दोलनका माग सम्बोधनका लागि काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को समान धारणा नभइ समस्या समाधान हुन नसक्ने बताएका थिए । 
 
काँग्रेसले तराई आन्दोलनको माग सम्बोधनका लागि व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधनको प्रस्ताव अपर्याप्त भएको भन्दै गठबन्धनले आन्दोलनको मागको समग्र विषयलाई हेर्न र एउटै प्याकेजमा संशोधनको प्रक्रियालाई अघि बढाउन आग्रह गरेको संयोजक गुप्ताले बताउनुभयो । भेटमा सभापति कोइरालाले उक्त मागका बारेमा पार्टीमा छलफल गरिने बताएको उहाँले जानकारी दिनुभयो । “काँग्रेसले यसमा विशेष पहल गर्नुपर्ने र प्रमुख प्रतिपक्षी दल भएकाले काँग्रेसले गरेको पहल परिणाममुखी हुने गठबन्धनको विश्वास छ” उहाँले भन्नुभयो । 
 
मधेस आन्दोलनको मागका बारेमा सबै तराई केन्द्रित दलका समान माग रहेको बताउँदै उहाँले सीमाङ्कनका साथै प्रतिनिधित्व प्रणाली र समावेशीकरणका विषय नै मुख्य माग रहेको अवगत गराउनुभयो । गठबन्धनमा तराई मधेस राष्ट्रिय अभियानका साथै शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) सहभागी हुनुहुन्थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ