arrow

चीनबाट अनुदानमा ल्याएको पेट्रोल प्रतिलिटर एक सय ७५

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1351062545.jpeg
काठमाडौं । चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैंया परेको छ । भारतीय नाकाबन्दीपछि इन्धन सङ्कटलाई केही हदसम्म राहत दिने उद्देश्यले नेपाल सरकारको आग्रहमा चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको थियो । 
 
सो परिणामको इन्धन नेपाल अइल निगमले आयात गरिसकेको छ । आयात भएको इन्धन बजारमा समेत गइसकेको छ । चीन सरकारले नेपाल सरकारलाई वार्षिक रुपमा प्रदान गर्ने आर्थिक तथा प्राविधिक अनुदानबाट कटौती हुने गरी ११ मिलियन आरएमबी बराबरको पेट्रोल उपलब्ध गराएको हो । चीनले १८ करोड २९ लाख ३० हजार बराबरको इन्धन उपलब्ध गराएको बताइएको छ । 
 
चीनले अनुदानमा उपलब्ध गराए पनि भन्सार, सडक कर, आयातलगायतको मूल्य जोड्दा प्रतिलिटर एक सय ७५ पर्न आएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चीनले उपलब्ध गराएको पेट्रोलको मूल्य प्रतिलिटर ८.४६ आरएमबी पर्दछ । आरएमबीको मङ्गलबारको खरिद दर नेपाल राष्ट्र बैंकका अनुसार १६.६३ पैसा रहेको छ । सोको परिमाणअनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक सय ४०.७१ पैसा हुन आउँछ । 
 
सो मूल्यमा सडक कर, मूल्य अभिवृद्धि कर तथा भन्सार शुल्क जोड्दा ३५ रुपैंया हुन जान्छ । सबै मूल्य जोड्दा चीनबाट अनुदानमा ल्याइएको पेट्रोलको मूल्य एक सय ७५.८८ पर्न गएको हो ।  
 
भारतीय अइल कर्पोरेसनले नेपाल अइल निगमलाई करबाहेक प्रतिलिटर ४५ रुपैंयामा इन्धन उपलब्ध गराउँदै आएको छ । रक्सौलमा निगमको ट्याङ्करले इन्धन भर्दा सो मूल्य तिर्नुपर्छ । त्यसमा सम्पूर्ण सरकारी राजस्व एवम् मूल्य अभिवृद्धि कर ३१.७१ पैसा थप हुन्छ । त्यसैगरी ढुवानी भाडा १.९८, बिमा शुल्क  ०.०३, मूल्य स्थिरीकरण कोषमा ०.५२, निगमको प्रशासनिक एवम् बिक्री खर्च ०.५०, प्राविधिक नोक्सानी ०.६०, ऋणको व्याज २ रुपैंया, ऋणमा भुक्तानी ५.५, निगमको नाफा प्रतिलिटर १२.२०, पेट्रोलियम बिक्रेता कम्पनीलाई ३.५६ र खुद्रा बिक्री मूल्य एक सय ४ पर्न आउँछ । 
 
अनुदानमा उपलब्ध गराइएको हुनाले चीनबाट आयात गरिएको पेट्रोलको मूल्य बढी पर्न आए पनि व्यावसायिक रुपमा इन्धन आयात गर्दा भारतबाट आयात भएको मूल्य बराबर नै पर्न जाने निगमको भनाइ छ । अनुदानको पेट्रोल बेच्दा निगमलाई प्रतिलिटर ७१.८८ घाटा भएको जनाइएको छ । सो घाटालाई नेपाल सरकारले मिनाहा गर्ने बताउँदै आएको छ । 
 
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले चीनबाट आयात गर्ने व्यावसायिक इन्धनको मूल्यमा भने फरक नपर्ने र भारतबाट आयात हुने इन्धनकै मूल्य बराबर पर्ने मन्त्रालयले विश्वास लिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ