arrow

संसद बेकामेः ‘बिजनेस’ नपाउँदा बैठक सात दिन स्थगित

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
samsad.jpeg
काठमाडौँ ।  सरकारले ‘बिजनेस’ दिन नसक्दा व्यवस्थापिका संसद् कामविहीन भएको छ ।  बिजनेस नभएपछि सभामुख ओनसरी घर्तीले संसद् बैठक एक सातासम्मका लागि स्थगित गरेकी छिन् । 
 
संविधान कार्यान्वयनका महत्वपूर्ण विधेयक सदनमा धमाधम छलफल हुनुपर्ने समयमा संसद् कामविहीन भएको हो ।  साउन १९ गते संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको थियो । 
 
 झन्डै तीन सातासम्म पनि सरकारले पूर्णता नपाउँदा सदनको बिजनेसमा सरकारको चासो पुगेको छैन ।  
 
संविधान कार्यान्वयनका महत्वपूर्ण विधेयक तयार भई कतिपय मन्त्रालयमा अड्किए पनि सरकारले पूर्णता नपाउँदा विधेयक संसद् सचिवालयमा दर्ता भएका छैनन् ।  
 
संसद्को चालु अधिवेशनमा सचिवालयमा दर्ता भएका विभिन्न १२ विधेयक पनि प्राथमिकतामा परेका छैनन् ।  संसद्लाई बिजनेस दिने दायित्व सरकारको हुन्छ । 
 
संसद् सचिवायलयका प्रवक्ता भरतराज गौतमले सरकारले पूर्णता नपाउँदा बिजनेस टुङ्गो नलागेको बताए । पूर्णता नपाए पनि मन्त्रालयमा विचाराधीन विधेयक पनि संसदमा ल्याइएका छैनन् । 
 
 सचिवालयमा विचाराधीन विधेयक अगाडि बढाउने नबढाउने विषयमा पनि सरकारको स्पस्ट निर्देशन प्राप्त भएको छैन ।
 
बिजनेस नभएका कारण आइतबारको संसद्को कार्यसूचीमा संसदीय समितिमा नामावली थप गर्नेमात्र कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ ।  
 
नयाँ संविधानअनुसार थप भएका संवैधानिक आयोगमध्ये छ वटाको विधेयक संसद्मा दर्तायोग्य भइसकेका छन् ।  विधेयक अघिल्लो सरकारले नै स्वीकृत गरे पनि संसदमा दर्ता भएका छैनन् ।  
 
थारू, मुस्लिम, मधेसी, आदिवासी जनजाति आयोगलगायत छ वटा आयोगका विधेयक दर्तायोग्य भए पनि सरकारले दर्ताका लागि संसद्मा पठाएको छैन ।  
 
यसअघि भदौ १ गतेको बैठकमा व्यवस्थापन अन्तर्गत दुई विधेयक विषयगत समितिमा पठाउने गरी कार्यसूची तय भएको थियो ।  न्याय प्रशासन र न्याय परिषद् ऐन संशोधन विधेयक विधायन समितिमा पठाएर उपसमितिले काम सकेको छ ।  तर, समिति तत्काल बस्ने सम्भावना छैन ।  
 
संवैधानिक प्रावधानअनुसार असोज २ गतेभित्र उच्च अदालत गठनका लागि न्याय प्रशासन ऐन संशोधन विधेयक तत्काल संसद्ले अनुमोदन गर्न आवश्यक छ ।  
 
विधायन समितिमा हालका पुनरावेदन अदालत प्रतिस्थापन गरी उच्च अदालत गठनको विधेयक विचाराधीन छ ।  न्याय प्रशासन ऐन संशोधन सम्बन्धी उक्त विधेयक भदौ १ गतेको संसद्ले समितिमा पठाएको थियो ।  
 
तर, भदौ ३ गते नै सभापतिसहित करिब १५ सदस्यीय टोली भारत भ्रमणमा गएपछि समिति बैठक अनिश्चित छ ।  समिति सभापतिसहितको टोली आउँदो भदौ १५ गतेमात्र स्वदेश फर्कनेछ । 
 
असोज २ सम्म पुनरावेदन अदालत प्रतिस्थापन गरी उच्च अदालत गठन गरिसक्न उक्त विधेयक सदनबाट पारित भई प्रमाणीकरण पनि हुनुपर्छ । 
 
विधेयक प्रमाणीकरणपछि ती अदालतमा विचाराधीन मुद्दा व्यवस्थापन, न्यायाधीश व्यवस्थापन र अन्य प्रशासनिक कामसमेत आवश्यक हुनेछ ।  
 
सम्पूर्ण प्रशासनिक कामसमेत सम्पन्न गरेर उक्त समयभित्र उच्च अदालत गठन हुनुपर्नेछ । विधेयकको महत्वलाई विचार गरी सरकारले समिति सभापति गङ्गा चौधरीलाई भ्रमणमा नजानसमेत आग्रह गरेको थियो ।  
 
तर, आग्रहविपरीत समितिको टोली भारत भ्रमणमा निस्केको हो । विधायन समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकसँग सम्बन्धित भारतको फौजदारी र देवानी विषयको कानुनी अध्ययनका लागि भन्दै टोली भारत गएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ