arrow

टेलिकमले पुर्‍यायो ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
nepal_telecom.jpg.jpeg
काठमाडौं। नेपाल टेलिकमले भाद्र चार गते देखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्‍याई सेवा उपलब्ध गराउन थालेको छ। त्यस अघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराइदै आएको र सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेको थियो। 
 
उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमविपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा ADSL, 2G, EVDO इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने टेलिकमका प्रवक्ता प्रतिभा वैधले जानकारी दिइन। साथै भविष्यमा 3G र WiMAX सेवा पनि सञ्चालन गर्न सकिने बताइएको छ। यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा टेलिकमले गरेको छ।
 
२०७३ भाद्र चार गते कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको हो। यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा टेलिकमले माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्‍याएको थियो। 
 
कम्पनीले धेरै पहिले देखि नै ७२ वटा जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवाको पहुँच पुर्‍याईरहेकोमा भौगोलिक विकटता समेतका कारण उल्लेखित तीन जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउनु टेलिकमले एउटा महत्वाकांक्षी योजनाका रुपमा लिएको थियो। ती जिल्लाहरुमा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउने कार्यलाई सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक कोशे ढुंगाको रुपमा टेलिकमले लिएको छ।  
 
नेपाल टेलिकमका प्राविधिकहरु मार्फत भौगोलिक दृष्टिले निकै कठीन उच्च पहाडी क्षेत्रमा ट्रान्समिसन उपकरणहरु जडान गरी सेवा सञ्चालन गरिएको बताइएको छ। आगामी दिनमा सम्भब भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको टेलिकमले जनाएको छ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ