arrow

डाक्टरका मन्त्री गगन थापा को हुन्?

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
gagan-thapa-krishna-sitoula.jpeg
काठमाडौं। नवनियुक्त मन्त्री गगन थापा समकालिन राजनीतिका चुनौती मोल्न सक्ने नेता हुन्। सांसद भएयता उपत्यकाका सांसदहरुसँग मिलेर 'लिभेवल काठमाडौं' अर्थात बस्न योग्य काठमाडौं उपत्यका अभियान सञ्चालन गर्दै आएका थापा अहिले देशको स्वास्थ्यको लागि काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न आइपुगेका छन्। 
 
नेपाली काँग्रेसका नेता गगन थापा समकालिन राजनीतिज्ञहरुमा प्रखर वक्ताका रुपमा चिनिन्छन। कुनै पनि विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्न सक्ने नेताका रुपमा चिनिएका थापा तत्कालिन शाही शासन विरुद्ध राजनीतिक दलहरुले गरेको प्रतिगमन विरुद्धको जनआन्दोलनका एक जना नायक थिए। तत्कालिन समयमा पार्टी नेतृत्वले आन्दोलन हाक्दै गर्दा सडकमा भने गगन थापा सहितका विद्यार्थी र तरुण यूवा नेताहरुले आन्दोलनको मोर्चा सम्हाल्थे। 
 
३० बर्षे पञ्चायत विरुद्ध २०४६ सालमा भएको आन्दोलनमा स्कुले विद्यार्थीकै हैसियतमा आन्दोलनमा निस्किएका थापा त्यसयता राजनीतिमा झुकाव राख्दै आएका थिए। विद्यालय पढ्दैदेखि नेपाली काँग्रेसको भतृसंस्था नेविसंघमा आवद्ध थापा उच्च शिक्षा अध्ययनका क्रममा क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीतिमा रहे। 
 
पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाका माहिला छोराका रुपमा थापाको जन्म २०३३ साल साउन ४ मा काठमाडौंको प्रसूति गृहमा भएको थियो। गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। 
 
पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। पिता महेन्द्र इन्जिनियर भएका कारण पनि उनली सबैलाई डाक्टर इन्जिनियर जस्ता प्राविधिक विषय पढाउन चाहन्थे। नभन्दै गगनका दाजु पवन इन्जिनियर भए। आफ्नो इन्जिनियरिङ अध्ययनका क्रममा उनका दाजुले कहिल पनि दोस्रो भएनन। साथै सधै विश्विद्यालय पनि उत्कृष्ठ भए। भाइहरू जीवन डाक्टर भए भने सुमन पनि प्राविधिक विषयमा उच्च अध्ययन गरि अमेरिकामा छन्। बाबुको इच्छा पनि सबै छोराहरु झै गगन पनि डाक्टर-इन्जिनियर नै बनोस भन्ने चाहन्थे। परिवारको इच्छा अनुसार गगन पनि क्याम्पस पढ्न जाँदा शुरुमा डाक्टर इन्जिनियर बन्ने सोच राखेर नै गएका थिए। तर अध्ययनका क्रममा उनले आफ्नो रुची अन्तै पाए। 
 
इन्जिनिरयरिङ अध्ययनको पढाइ छोडेर उनले त्रिचन्द्र क्याम्पसमा साइन्स पढे। त्रिचन्द्रबाट विएस्सी सकाएपछि उनले त्रिवीबाट मानवशास्त्र समाजशास्त्र विषयमा स्नातकोत्तर गरे। २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थापा त्यसपछि २०५३मा त्रिचन्द्र स्ववियुमा सचिव भए। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो। नेविसंघको चितवनमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्ष भएका थापाले बिरगञ्जमा सम्पन्न महाधिवेशनबाट महामन्त्री बने। उनले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका छन्। यहि बेलामा उनले जनआन्दोलनका नायकका रुपमा सडकमा नेतृत्व गर्दा पटकपटक घाइते र प्रहरी नियन्त्रणमा परे। २०५९ सालमा राजाले जननिर्वाचित सरकार अपदस्थ गरेपछि त्यसको विरोधमा भएको आन्दोलनका क्रममा सूर्य बहादुर थापा नेतृत्वको सरकारले थापा सहित गुरु घिमिरे र पुरुषोत्तम पौडेललाई नियन्त्रणमा लिएर राजकाज मुद्दा लगाएको थियो। यसअघी भने उनी एमालेको अल्पमतको सरकार छँदा २०५१ सालमा नेविसंघले आह्वान गरेको नेपाल बन्दका क्रममा हिरासत पुगेका थिए। 
 
शाही शासनको बेलामा अर्धभुमिगत शैलीमा काठमाडौंमा रहेर आन्दोलनमा सक्रिय रहेकै बेलामा थापालाई प्रहरीले लैनचौरको विद्यार्थी नेता सन्देश अधिकारीको घरबाट विद्यार्थी नेताहरु सुवोध आचर्य सहितलाई नियन्त्रणमा लिएको थियो। सरकारले गगनलाई राजद्रोहको मुद्दा लगाएको थियो। अन्तराष्ट्रिय मानवअधिकारीवादी संस्था एम्नेष्टी इन्टरनेशनलले थापालाई सो समयमा आस्थाको वन्दी घोषणा गरेको थियो। नेपाली काँग्रेस संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहँदा थापा सडकमा गणतन्त्रको नारा लगाउने मात्र होइन त्यस्तो समुहको नेतृत्व गर्ने। लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसा भयो। हुँदा हुँदै उनी लोकतन्त्रकै नायक बन्न सफल भए। त्यस समयमा उनलाई विभिन्न सञ्चार माध्यमले पनि लोकतन्त्रकै नायकको रुपमा फिचरिङ गरेको थियो। देशको समसामयिक बिषयका साथै पार्टीभित्र पनि आफूलाई उचित लागेको विषयमा प्रखर रूपमा आवाज उठाउने थापा चुनौति मोल्न सक्ने नेताका रुपमा परिचित छन्। 
 
पहिलो संविधानसभाबाट समानुपातिक सभासद बनेका थापा दोस्रो सविधान सभामा भने काठमाडौं क्षेत्र नम्वर ४ बाट आफ्ना निकटतम प्रतिष्पर्धीहरुभन्दा दोव्वर भन्दा वढी मत ल्याएर निर्वाचित भए। उनीसँगै पराजित नन्दकिशोर पुन पासाङ अहिले उपराष्ट्रपति भएका छन्। सभासद निर्वाचित भएपछि उनलाई पार्टीले कृषि तथा जलस्रोत समितिको सभापतिको भुमिका दिएको थियो। उनले सो समितिको नेतृत्व गरिरहँदा संसदीय अभ्यासमा केहि नविनतम काम गर्ने प्रुयास गरेका छन्। नीतिगत रुपमा वहश हुने ठाउको रुपमा समितिलाई उनले लैजाने प्रयास गरेका छन्। समितिहरुको संयुक्त वैठकको अभ्यास उनको समितिले धेरै गर्‍यो। समितिमा वोलाएर निर्देशन दिने परम्परागत शैलीमा पनि परिवर्तन गर्दै समिति मातहतका मन्त्रालयहरुलाई प्रगति विवरण सहित प्रत्येक महिना समितिमा पेश गरि मन्त्रालयहरुलाई संसदप्रति जवाफदेहि बनाउने कामको नेतृत्व थापाले लिए। नेपाली काँग्रेसका नेता गगन थापा आफ्ना अनुकरणीय कामहरुको कारण एक सभासद तथा सांसद तथा समिति सभापतिको रुपमा सदा चर्चाको शिखरमा रहे। 
 
संविधान सभामा नेपाली काँग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काँग्रेसका ऐतिहासिक दस्तावेज नाम पुस्तकको सहलेखन गरेका छन्। उनका विभिन्न सञ्चारमाध्यममा सयौं लेखहरु समेत प्रकाशित छन्। नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा महामन्त्री पदमा प्रत्यासी भएका थापा राजनीति व्यापार नभइ सेवा भएको बताउँछन। थापाले नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीकी छोरी डा. अञ्जना केसीसँग २०६५ वैशाखमा विवाह गरे। उनका दुई छोरी गार्गी र जियाना छन्। 
 
परिवारिक रुपमा तथा अध्ययनका क्रममा डाक्टर र इन्जिनियर बन्न प्रेरित भएपनि राजनीतिमा लागेर देशकै समग्र स्वास्थ्यको चिन्ता गर्ने र उपचार गर्न आँट गर्ने थापाले नेपालको स्वास्थ्य नीतिका बारेमा लामो समयदेखि विमर्श र चिन्तन गर्दै आएका छन्। डाक्टरहरु कै मन्त्री भएपछि देशको स्वास्थ्य सुधार्ने जिम्मा उनकै काँधमा आएको छ। थापालाई हाम्राकुराको तर्फबाट वधाई र शुभकामना। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ