arrow

प्रधानमन्त्री चयनको कार्यतालिका प्रकाशित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1811007057.png
काठमाडौँ । व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गरेको छ । व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा सुवास नेम्बाङले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिनुभएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशित गरेको हो । 
 
प्रकाशित सूचनाअनुसार शनिबार बिहान संसद् भवन नयाँबानेश्वरमा ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीका उम्मेद्वारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव र म प्रधानमन्त्रीमा निर्वाचित भए यी काम गर्न राजी छु भन्ने व्यहोराका आवेदनमा उम्मेदवारले हस्ताक्षर गर्नुपर्नेछ । 
 
आवेदन दर्ता भएपछि शनिबार ४:३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्ने व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । यस्तै आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा प्रवेश गर्नेछ । 
 
राष्ट्रपति डा रामवरण यादवले सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिनुभएको समयसीमा बिहीबार सकिएपछि आजबाट बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढेको हो । संविधानको धारा २९८ मा भएको सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को बैठक आह्वान भएको सात दिनभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था रहेको छ । सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन नभएको अवस्थामा बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्रीको चयन हुने प्रावधान रहेको छ । 
 
यस्तै अधिवेशन आह्वान भएको अवस्थामा २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा २९९ मा रहेको छ । सदनमा रहेको बहुमत सदस्य सङ्ख्याले ती दुई पद चयन गरिनेछ । सभामुख र उपसभामुख अलगअलग राजनीतिक दल प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यस्तै सदनको बैठक चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्ने प्रावधान संविधानको धारा २९७ मा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ