arrow

बजारमा मौलायो कालोबजारी, स्थानीय प्रशासन मौन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
450045909.jpeg
दीपक घिमिरे ।लुम्बिनी (रुपन्देही) । नेपालमा जारी सङ्क्रमणकालको फाइदा उठाउँदै रुपन्देहीका केही व्यापारीले कालोबजारी सुरु गरेका छन् । मुलुकमा जारी लामो समयदेखिको बन्द र हडतालबाट आजित बनेका नेपाली नागरिक कालोबजारी प्रवृत्तिबाट झनै सङ्कटमा परेका छन् । 
 
स्थानीय प्रशासन र सम्बद्ध सरोकारवाला निकायको अनुगमनको अभावका कारण बजारमा कालोबजारी मौलाएको हो । भारतीय पक्षको अघोषित नाकाबन्दीकाबीच आएको खाद्यान्न, फलफूल र तरकारीमा यहाँका स्थानीय व्यापारीले खुलेआम कालोबजारी गर्दासमेत स्थानीय प्रशासन र सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् । यसले गर्दा बजार केही माफियाको हातमा परेको छ । खासगरी अघोषित नाकाबन्दीको बहाना देखाउँदै भैरहवाको खुद्रा व्यापारी कालोबजारी गर्न उद्दत छन् । 
 
भारतले अघोषित नाकाबन्दी गरे पनि आलु र प्याजको अभाव भने नभएको भैरहवाका थोक विक्रेताले बताइरहँदा खुद्रा व्यापारीले भने अघोषित नाकाबन्दीका कारण देखाउँदै आलु र प्याजको भाउ ह्वात्तै बढाएका छन् । 
 
भैरहवाको हाटबजारमा रहेको थोक पसल सत्गुरु टे«डर्सका सञ्चालक अमित बानियाँका अनुसार अहिले बजारमा थोकमा रातो आलु प्रतिकेजी रु २२ र सेतो आलु प्रतिकेजी रु १८ रहेको छ । तर भैरहवाकै मुख्य तरकारी बजार मायादेवी फलफूल तथा तरकारी बजारमा बु्झ्दा रातो आलु प्रतिकेजी रु ४५ र सेतो आलु प्रतिकेजी रु ४० मा धमाधम बिक्री वितरण भइरहेको छ । यसरी हेर्दा थोकमा भन्दा खुद्रा व्यापारमा दोब्बर मूल्य लिएर नाफा खाने प्रवृत्ति देखिएको छ । 
 
रातो आलु रु २० बाट रु २२ र सेतो आलु रु १७ बाट १८ भए पनि खुद्रामा भने त्यसको अन्तर निकै ठूलो देखिएको छ । त्यस्तै केही दिन अगाडिदेखि भारतीय बजारमा प्याजको भाउ घटेका कारण पहिला १०५ नेपाली रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ अहिले रु ८५ थोकमा बिक्री हुँदा पनि खुद्रामा भने रु १३० देखि रु १५० सम्ममा बिक्री भइरहेको छ । 
 
यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । एउटा सानो निहुँ पाउनासाथ कालोबजारी गर्न खुद्रा व्यापारी माहिर रहेको सर्वसाधारणको गुनासो छ । यसरी कालोबजारी गर्नेलाई स्थानीय प्रशासनले तत्काल कारबाही थाल्न जरुरी रहेको स्थानीय जनता बताउँछन् । रुपन्देहीको चिल्हीयाका बाबुराम केसीले भन्नुभयो – “मुलुकको सङ्क्रमणकालको फाइदा उठाउँदै कालोबजारी गर्नेलाई सबै मिलेर कडाभन्दा कडा कारबाही गर्न जरुरी छ ।” 
 
उहाँले भन्नुभयो– “कालोबजारी गरेर एक दिनमा मात्रै कमाउने प्रवृत्ति हटाएर दीर्घकालीन व्यापार गर्न म आग्रह गर्दछु ।” उपभोक्ताको हितका लागि भन्दै यस क्षेत्रमा क्रियाशील उपभोक्ता मञ्च नेपाल तथा अन्य सरोकारवाला निकायले पनि बजार अनुगमनमा खासै चासो देखाएको छैन । बजारमा खुलेआम कालोबजारी हुँदा सरोकारवाला निकाय अनुगमनमा निस्कन नसक्नु दुःखद कुरा हो । उपभोक्ता मञ्च नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण वैदवारले कालोबजारी गरेको सुनेपछि आफूहरु अनुगमनमा गएको बताउँदै भारतीय पक्षबाट लगाइएको अघोषित नाकाबन्दी खोलेरमात्रै अनुगमनमा आउन व्यापारीले भनेपछि आफूहरु चुप लागेर फर्किएको जवाफ दिनुभयो । 
 
उहाँले स्थानीयस्तरबाट कालोबजारी बढेको गुनासो आएको उल्लेख गर्दै आफूहरुले छिट्टै अनुगमनलाई तीव्रता दिने वचनबद्धता पनि प्रकट गर्नुभयो । अनुगमनकै लागि भनेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एकजना सहायक प्रमुख जिल्ला अधिकारी पाए पनि पछिल्लो समय अनुगमनले स्थान नै पाउन सकेको छैन । 
 
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कालोबजारी भयो भन्ने चौतर्फी आवाज उठ्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला सम्मिलित एक समिति गठन गरिएको बताएको छ । तर त्यो समितिले अहिलेसम्म खासै परिणाममुखी काम गरेको छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले अनुगमनलाई अब तीव्रता दिने बताउनुभयो । 
 
हरेक प्राकृतिक विपत्ति तथा अप्ठ्यारो स्थितिको मौका छोपेर कालोबजारी गर्ने केही लोभी व्यापारीका कारण असल व्यापारीलाई समेत मर्का पर्ने गरेको स्थानीय व्यापारीको भनाइ छ । ती व्यापारीका अनुसार कालोबजारी गर्नेलाई स्थानीय प्रशासनले कडाभन्दा कडा कारबाहीको भागिदार बनाउनु पर्दछ । सिद्धार्थ उद्योग वणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष रामकुमार शर्माले सङ्क्रमणका बेला कसैले पनि कालोबजारी नगर्न आग्रह गर्नुभयो । उहाँले बजार अनुगमनका लागि सङ्घ तत्पर रहेको बताउनुभयो । 
 
पेट्रोलियम पदार्थ आयातमा असहजता सिर्जना भए पनि अघोषित नाकाबन्दीको अवधिमा आलु प्याजलगायतका खाद्य वस्तु फाट्टफुट्ट भित्रिरहेका छन् । तर व्यापारीले भने कृत्रिम अभाव सिर्जना गरिरहेको सर्वसाधारणको बुझाइ छ । थोक विक्रेताभन्दा पनि खुद्रा विक्रेतामा ठग्ने प्रवृत्ति बढी देखिएको छ । अब व्यापारीकै कुरा पत्याउनु र उनीहरुकै मात्र भर पर्नुभन्दा पनि उपभोक्ता नै सचेत भएर वस्तुको वास्तविक भाउ बुझ्न पट्टि लाग्नुपर्ने बेला आएको स्थानीय उपभोक्ता सुनिल चौधरी बताउनुहुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ