arrow

स्थानीयतह पुन: संरचनामा ज्ञापनपत्रको चाङ्ग

मुख्य प्रस्तावमा ८ बैकल्पीक प्रस्तावमा १४ स्थानीयतह सिफारीस

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ २२ बुधबार
Syangja-hamrakura.jpg.jpeg
स्याङ्जा। स्याङ्जा जिल्लालाई राज्य पुनर्सरचना प्राविधिक आयोगले आठ तहमा विभाजित गर्ने निर्णय गरेको छ । सोही अनुरुप राज्य पुनर्सरचना प्राविधिक आयोगका अध्यक्ष तथा स्थानीय विकास अधिकारीले तोकिएको आठ केन्द्रमा पुगेर आयोगले निर्माण गरेको र स्थानीय तह निर्माण गर्दा बनेका नीतिका बारेमा जानकारी दिए । अधिकांश भेलामा स्थानीयहरुले आयोगले ल्याएको प्रतिवेदन प्रति असन्तुष्ट जनाए । 
 
सर्वसाधरणले असन्तुष्ट पोख्दै गर्दा सबै नागरिकको सहमति विना स्थानीयतहको पुनर्सरचना नहुने भन्दै सुझाएका थिए । तर ठिक प्राविधिक आयोगले स्याङ्जामा तोकेको स्थानीय तह अनुरुपनै अहिले सिफारीस गरेको छ । स्थानीय विकास अधिकारी तथा राज्य पुनर्सरचना आयोग स्याङ्जाका अध्यक्ष महेश भट्टराईले मुख्य प्रस्तावमा ८ र बैकल्पीक प्रस्तावमा १४ ओटा स्थानीयतह सिफारीस गरेको बताएका छन् । 
 
भौगोलिक दृष्टिकोणले पनि स्याङ्जा पहाडी भुभाग बढी भएको जिल्ला हो । सबै नागरिकलाई पायक पर्ने सेवाकेन्द्रको माग गर्दा केही अफठ्यो त हुन्छ नै स्थानीय विकास अधिकारी भट्टराईले भने,“प्राविधिक आयोगले निर्माण गरेको पुनर्सरचना र नागरिकले दिएको सुझाव अनुरुपको पुनर्सरचना गरी दुई प्रस्तावना पेश गरेका छौं ।” जिल्लाले पेश गरेको प्रतिवेदनलाई केन्द्रिय प्राविधिक आयोगले नै टुङ्गो लगाउने छ । जिल्लालाई आठ स्थानीय पुनर्सरचना बनाउने प्राविधिक आयोगको निर्णय अनुरुप बनेको संरचनालाई स्याङ्जावासीले मान्ने अवस्था निकै कम देखिएको छ । 
 
अर्को तर्फ नागरिकले नै माग गरिए अनुरुप स्थानीय पुनर्सरचनाको अवस्था हेर्दा १४ ओटा सिफारीस गरिएको छ । १४ ओटा सिफारीस गर्दा पनि अहिले ज्ञापनपत्र बुझाउनेको संख्या बढ्दो छ । स्थानीयतहको पुनर्सरचनाको छलफल चल्दै गर्दा आरुचौर, पञ्चमुल, दरौ, रापकोट र अर्जुनचौपारी गाविसका जनताहरुले आन्दोलन नै गरे । अर्जुनचौपारीलाई नगरपालिका बनाउनु पर्ने माग गर्दै गरिएको आन्दोलन काठमाण्डौं सम्म पुगेको थियो । हाल स्याङ्जामा वडा र गाविसका जनताको माग अनुरुप स्थानीयतह पुनर्सरचना नभएको भन्दै स्थानीय विकास अधिकारी देखि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउनेहरुको लहर नै चलेको छ ।
   
यसै विच स्याङ्जा जिल्लाको स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समितिलाई फेदिखोला केन्द्र बनाउन माग गर्दे ७ गाविसका स्थानीयबासीले छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीलाई ज्ञापन पत्र बुझाएका छन् । फेदिखोला, आरुखर्क, भाटखोला, बागेफड्केका सबै वडाहरु र वाङसिङ गाविसका ४ देखि ९ सम्मका वडा र पौवेगौडे गाविसका ४ र ५ र सेतीदोभानको १ वडाले फेदिखोलालाई केन्द्र बनाउनु पर्ने माग गर्दे प्रजिअ मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।  
 
स्थानीय तह पुनसंरचनामा फेदिखोला केन्द्र मागका लागि गठित संयुक्त संघर्ष समितिकाका संयोजक घनश्याम सुवेदीद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा फेदिखोला केन्द्र कायम हुने माग पुरा नभएसम्म स्थानीय संघर्ष समिति अब्यवहारिक एवं पूर्वाग्राही प्रस्तावको बिरुद्धमा जस्तो सुकै आन्दोलन गर्न समेत बाध्य हुने उल्लेख गरिएको छ । जनताको सुगमतालाई ध्यान नपुरयाईकन अपायक स्थानमा केन्द्र प्रस्तावित गरिदा स्थानीय जनतालाई मान्य नहुने बताउदै संबिधानको प्रस्तावनाको भावना र मर्म विपरीत कार्य नगर्न समेत ज्ञापन पत्रमा उल्लेख छ । यस क्षेत्रका संघर्ष समितिले १ घण्टे सिद्धार्थ राजमार्ग चक्काजाम पनि गरेका थिए । 
 
स्थानीय तह पुनःसंरचना आयोगले दिएको जिम्मेवारी अनुसार स्याङ्जाको प्राविधिक समितीले सिफारिस गरेको प्रस्ताव प्रति वालिङ नगरपालिका वाड नं ४ का वडावासीले पनि स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एवं स्थानिय विकास महेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । आयोगमा प्रस्ताव गरिएको हालको वालिङ नगरपालिकाको वाडा नं ४, ५, ६ र केवरेभञ्ज्याङ गाविसको वडा नं ८ र ९ मिलाएर एउटा वडा कायम गर्ने प्रस्ताव प्रति विरोध जनाएका हुन् । शनिवार बसेको भेलामा हाल प्रस्ताव गरिएको वडा केन्द्र र प्रस्तावित वडा भौगोलिक हिसावले न्यायोचित नभएको भन्दै ज्ञापनपत्र बुझाइएको हो । 
 
प्राविधिक समितीले स्थानीय तहमा छलफल नै नगरिकन वालिङ नगरपालिकाको वडा नं ५ प्रस्ताव गरिएको भन्ने बुझिएको छ र त्यसो गर्दा वडा नं ५ को वडा केन्द्र मिर्दी एक्लेपिपल कायम गरिएको हुँदा वडा केन्द्रबाट टाढा, पायक नपर्ने र भौगोलिक हिसाबले न्यायोचित नभएकोले र जनताले सेवा भन्दा सास्ती पाउने हुँदा हालको वडा नं ३ संग मिलाई वडा कायम गर्न माग गरिएको छ । केन्द्रले तोकेको मापदण्ड अनुसारको जनसंख्या समेत ६ हजार भन्दा भित्रै कायम हुने भएकोले निर्णय सच्चाउन माग गर्दै प्राविधिक समितीका संयोजक स्थानीय विकास अधिकारी र राजनैतिक दलका प्रतिनिधीहरुलाई ज्ञापन पत्र बुझाएको र निर्णय नसच्चाए आन्दोलन गर्ने चेतावनी समेत वडावासीले गरेका छन् ।  
 
यता पकवादी गाविसका ५,६,७ का जनताले पनि राज्य पुनर्सरचना आयोगका अध्यक्ष तथा स्थानीय विकास अधिकारी महेश भट्टराईलाई साविकका वडाहरु वालिङ नगरपालिकामा समायोजन गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । स्याङ्जा आयोगले सिफारीस नगर्दै तिन वडाका जनताले हस्ताक्षर संकलन गरि वालिङमा समायोजन गरिदिन माग गरेका थिए । 
 
पकवादी गाविसका ५ र ६ लाई गल्याङ्मा र ७ लाई चापकोट नगरपालिकामा समायोजन गरेको बुझिएकाले यहाँका नागरिकलाई मर्माहत र दुखी तुल्याएको भन्दै ज्ञापन पत्र बुझाएका हुन् । प्राविधिक आयोगले समायोजन गरेको तिन ओटै वडाहरु वालिङ सगँ नजिक रहेको र तिनओटै वाडको वालिङ पुग्ने दुरी १.५४ किलोमिटर रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । छोटो दुरीमा सेवा केन्द्रबाट सुविधा उपभोग गर्न पाउने तिनओटा वडावासीको अवस्थालाई नहेरी १२—१२ किलोमिटर टाढा पुग्नुपर्ने बाध्यताबाट सच्चाएर माग पुरा गरिदिन आग्रह गरेका छन् । माग पुरा नभए थप आन्दोलनका कार्यक्रम समेत अगाडी बढाउने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 
 
अर्कोतर्फ तीनदोवाटे गाविसका २ र ३ वडाहरु पनि वालिङमा समायोजन गरिदिन माग गर्दै हस्ताक्षर संकलन गरिउको बताइएको छ । एकदुई जनाको लहैलहैमा लागेर वडावासीहरुको जनचाहना नबुझिकन गल्याङमा समायोजन गरिएको भन्दै हस्ताक्षर संकलन गरिएको हो । बिहिवार स्थानीय विकास अधिकारी महेश भट्टराईलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको बुझिएको छ । स्याङ्जाबाट मुख्य प्रस्तावित आठ स्थानीय तहमा ६ नगरपालिका र २ गाँउपालिका रहेका छन् भने १४ ओटा बैकल्पीक प्रस्तावितमा ७ ओटा नगरपालिका र ७ ओटा गाँउपालिका रहेका छन् । 
 
जस अनुसार आठ स्थानीय तहमा पुतलीबजार नगरपालिका, आँधिखोला नगरपालिका, भिरकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका र चापकोट नगरपालिका रहेका छन् भने विरुवा र कालिगण्डकी गाँउपालिका छन् । यसै गरी बैकल्पीक १४ ओटा स्थानीय तहमा फेदीखोला, आँधीखोला, सितलादेवी, विरुवा, चित्रेचिसापानी, लङ्काकोट, ज्याग्दी गाँउपालिका रहेका छन् भने पुतलीबजार, अर्जुनचौपारी, भिरकोट, वालिङ, चापकोट, गल्याङ र कालीगण्डकी नगरपालिका तोकिएको छ । स्याङ्जामा चार नगरपालिका भने अगाडी देखिनै कायम रहेका थिए । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ