arrow

‘बृहत लुम्बिनी विकास’ नयाँ योजनासहित काम सुरु गर्ने सरकारको तयारी

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
काठमाडौँ । सरकारले गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीलाई  ‘बृहत लुम्बिनी विकास’ नयाँ योजनासहित काम सुरु गर्ने तयारी गरेको छ । बृहत लुम्बिनीको समग्र विकास निमार्णमा ढिलाइ भएकाले लुम्बिनी विकासको गुरुयोजना पुनरावलोकन गर्ने र त्यसको अवधारणाको सम्बन्धमा थप अध्ययन प्रारम्भ गर्ने तयारी भएको हो ।लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बृहत लुम्बिनी विकासमा ढिलाइ भइरहेकाले त्यसको गुरुयोजना नै पुनरावलोकन गरी नयाँ योजनासहित काम अघि बढाउने बताउनुभयो ।
 
सिंहदरस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज बसेको लुम्बिनी विकास कोषको कार्यकारी समितिको बैठकले नयाँ ढङ्गले बृहत लुम्बिनीको विकास गर्न विभिन्न निर्णय गरेको छ ।
 
उक्त निर्णयहरुमा लुम्बिनी गुरुयोजना पुनरावलोकन गरी बृहत लुम्बिनी अवधारणको सम्बन्धमा थप अध्ययन प्रारम्भ गर्ने, लुम्बिनीको कार्यक्षेत्रका बारेमा थप स्पष्टता र व्यापकता प्रदान गर्ने, आवश्यक कानुनी व्यवस्था परिमार्जन गर्न ऐन विनियमको संशोधन गर्नुपर्ने भए सो प्रारम्भ गर्ने निर्णय भएको छ । त्यसैगरी, कोषको छरिएर रहेका विनियमावलीलाई एकीकृत गरी सङ्गठनको संरचना पुनरावलोकन गर्ने, कार्यक्रम कार्यान्वयन कार्यविधि निर्माण गर्न वर्तमान कर्मचारी असन्तुष्टिलाई सम्बोधन गर्नेसमेत निर्णय गरेको छ ।
 
त्यस्तै, लुम्बिनी सुरक्षा व्यवस्था पुनरावलोकन गरी सुदृढ सुरक्षा प्रणाली लागू गर्न आवश्यक पहल गर्ने, कोषको काठमाडौँस्थित सम्पर्क कार्यालय तीन महिनाभित्र पूर्ण रुपमा विस्थापन गरी कोषको प्रधान कार्यालय लुम्बिनीबाटै सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले कोषको कानुन परिमार्जनका लागि कोषका सदस्यसचिव अमितमान तामाङको संयोजकत्वमा मन्त्रालयका कानुन महाशाखाका  सहसचिव साधुराम सापकोटा, कोषका कानुनी सल्लाहकार बाबुराम दाहाल, कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानेन्द्र राई भएको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
 
साथै, बैठकले कोषका असन्तुष्ट कर्मचारीसँग वार्ता गर्न, लुम्बिनीको समग्र विकासका सम्बन्धमा र कोषमा अन्तर्राष्ट्रिय क्षेत्रमा विज्ञको प्रतिनिधित्व गराउने विषयमा पनि छुट्टाछुटै समिति चयन भएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ