arrow

तेस्रो एनभीए कप भलिबलमा न्युडायमण्ड र एपीएफको विजयी सुरुआत

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
NVA-bollyball.jpeg
काठमाडौं । न्युडायमण्ड स्कुल र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित गर्‍यो ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा पाखा लगायो । आर्मीविद्ध न्युडायमण्डले पहिलो सेट २५–११, दोस्रो २५–१४ र तेस्रो सेट २५–१६ को सेटमा जित निकाल्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो ।
 
नेपाल भलिबल संघको बार्षिक क्यालेन्डर अनुसारको पहिलो प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा एपीएफले काभ्रे जिल्ला भलिबल संघमाथि ३–० कै सेटमा जित निकाल्यो । एपीएफले काभ्रेमाथि २५–५, २५–८ र २५–३ को जित निकाल्यो ।
 
पुरुषतर्फको खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब र ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेका छन् । राखेप कबर्डहलमा भएको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्दले काभ्रे भलिबल संघमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । मणिमुकुन्दले काभ्रेमाथि पहिलो सेट २५–१२, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ को जित निकाल्यो ।
 
यस्तै पुरुषतर्फको दोस्रो खेलमा ढोरपाटनले बुढानीलकण्ठ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्‍यो । पहिलो सेट १६–२५ ले गुमाएको ढोरपाटनले त्यसपछि लगातार तीन सेट जित्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । बुढानीलकण्ठविरुद्ध ढोरपाटनले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ तथा निर्णायक सेट २७–२५ जित्दै खेल आफ्नो पक्षमा बनायो ।
 
लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख ५० हजार रुपैयाँ जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैया जित्ने छन् । यस्तै च्याम्पियनसिपको दुवै विधाका सर्बोकृष्ट खेलाडीले १५-१५ हजार पाउने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, ब्लकर, लिफ्टर, लिब्रो र सर्भरले जनही ५ – ५ हजार पाउनेछन् ।
 
च्याम्पियनसिपको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले गरेका थिए । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङ, निरोज मास्के र रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ