arrow

सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववीयू निर्वाचन अनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
Student-election.jpeg

सुदूरपश्चिम ।  सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववीयू)को निर्वाचन अनिश्चित बनेको छ ।

केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो । 

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले जानकारी दिए ।  

“पाँच वटा क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ”, उनले भने, “अन्य आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया जारी छ ।” उनले निर्वाचनका लागि छलफलमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले निर्वाचन समितको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

विद्यार्थी सङ्गठनहरुले विद्यार्थी भर्नाका लागि दुई दिनको समय तय गरी चुनावलाई असफल र विद्यार्थीहरुलाई मताधिकारबाट बञ्जित गर्न खोजेको आरोप लगाएका छन् । अन्य विद्यार्थी सङ्गठनले भने निर्वाचन हुनुपर्ने माग गरेका छन् । 

अनेरास्ववीयू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्नुपर्ने बताए । “हामीले पटक-पटक छलफल गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छौँ”, उनले भने, “हाम्रो सङ्गठन निर्वाचनमा जान तयार छ ।” 

सुदूरपश्चिम विश्वविद्यालयले भने ताला खोल्नका लागि पटक-पटक छलफल भएपनि सहमति जुट्न नसकेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ