arrow

धुर्मुस-सुन्तलीले गरेर देखाए

logo
माधव चम्लागाई,
प्रकाशित २०७३ असोज १२ बुधबार
dhurmu-house-091.gif
गिरानचौर। हामी सवा एक बजे सिन्धुपाल्चोकको मेलन्ची नगरपालिकामा पर्ने गिरानचौर पुग्दा थकित मुद्रामा रुखको फेदमा सिताराम कट्टेल "धुर्मुस" बसिरहेका थिए। उनीसगै घर निर्माणको ब्यवस्थापन र इन्जिनियरिङ काममा सघाँउदै आएका अर्जुन न्यौपाने, धुर्मुस सुन्तली एकिकृत बस्तीका अध्यक्ष सहित अन्य केही ब्यक्ति समेत सगै थिए। 
 
हामीलाई देख्ने बित्तिक्कै धुर्मुस जुरुक्कै उठे र गलामा गला मिलाउदै स्वागत गरे। धुर्मुसले हार्दिकतापूर्वक स्वागत गरिरहदाँ मेरो मनमा भने काभ्रेपल्लाञ्चोकको पहरी बस्ती निर्माणको क्रममा सगैँ (७० दिन भन्दा बढी) बसेका दिनहरु मानसपटलमा घुमिरहे। धुर्मुसलाई खोज्दै अघि बढ्दै जाँदा निर्माणाधिन ६५ घरहरु आँखाले देखिसकेका थिए। सरकार भने डेड बर्षसम्म कति राहत दिने होला ? भनेर अझै अलमल गरिरहेको अवस्थामा उनको नेतृत्वमा दुइवटा बस्ती ठडिनै लागेका थिए । सामाजिक सन्जाल सगुन डटकम, नेपाली सेना, मेरी बास्सै तथा भद्रगोल लगायतको सहयोगमा भुकम्प पछि लगत्तै काभ्रेको पलाञ्चोक नजिकै पहरी बस्तीमा तीन महिना लगाएर २० घर बनाउन नेतृत्व गरेसगै उनको चर्चा देश भित्र र बाहिर चुलियो। हुन त धेरै बाधा र ब्यवधान बिच यो एकिकृत बस्ती बनाउन सक्दैनन भन्नेहरुले पनि बन्ने निश्चित भए पछि सघाएका थिए। कतिपय एनजिओ तथा अन्य निकायहरुले १०००-२००० घर बनाउछौ भन्दै भुकम्प पछि घोषणामा तछाड मछाड नै गरेका थिए। न त सरकारले बनायो न त घोषणा गर्ने तिनिहरुले नै घर ठड्याए। बस्ती निर्माण हुनुपूर्व भुकम्प लगत्तै पनि सगुन डटकम लगायत बिभिन्न संघ संस्थाको सहकार्यमा १० वटा भन्दा बढी जिल्लामा राहतमा सामाग्री लिएर पुगेका थिए धुर्मुस।
 
धुर्मुस कलाकारिता छोडेर सामाजिक काममा यसरी होमिएका थिए कि उनलाई भेट्न आउनेहरु सिमेन्टका बोरा बोक्दै गरेको धुर्मुस, आफै काममा लगातार घोटिएको देखेर जिल्ल पर्थे। हुन पनि हो उनीसग अदम्यको साहश थियो । काम गर्न कुनै हिच्किचाहट थिएन, ज्यामीहरुसगै खटिरहन्थे, काम चाँडो गर्न कामदारहरुलाई हसाँउदै उक्साइरहन्थे । उनकी श्रीमती कुन्जना घिमिरे "सुन्तली" पनि बिरामी छोरी घरमा छोडेर साथ दिदै भन्थिन् यो पहरी बस्ती जसरी पनि बनाउने हो।  उठेको पैसाले पुगेन भने आफ्नो घर बेचेर भए पनि बनाउछौ भन्दै धुर्मुसलाई साथ दिन्थिन। 
 
यो बस्ती निमार्णको सफलताले उनीहरुको सामाजिक छबि अन्य कलाकार भन्दा धेरै माथि पुर्याएको थियो । धुर्मुसले भन्ने गर्थे यो त सानो बस्ती भयो यो भन्दा ठुलो एकिकृत बस्ती बसाउने सोच छ मेरो, एकिकृत बस्ती यस्तो हुन्छ भनेर सबैलाई देखाउन मन छ। बास्तबिक भुकम्प पिडित गाँउ भेटाए भने म बनाएर देखाउछु। पहरी बस्ती निर्माण गर्दै गर्दा सगै रहदाँ उनी भन्ने गर्थे। उनले गिरानचौरमा बनाएको बस्ती हेर्दै गर्दा मनमा यस्तै खालका बिगत झल्झल्ती आइरहेको थियो। बनिसक्न लागेको यो बस्ती हेर्दै गर्दा मन एक किसिमले फुरुङ नै थियो।
 
कुराकानीको क्रममा हामीलाई उनी भन्दै थिए, "पहिलो बस्ती बनाए पछि यसरी बिश्वास जितेछु,  सहयोगको आवहान गरेको केही दिनमा नै अनुमान गरेको लागत बराबरको पैसा उठिसकेको थियो। बालक, बृद्ध, अपाङग तथा दिर्घ रोगीहरुले समेत पैसा पठाएर काम सफलताको कामना गरे। देश बिदेशबाट लगातार पैसा आइरहेपछि पैसा नपठाउन आवह्न नै गर्नुपर्‍यो। अझै पनि कतिपय मेरो पैसा लिइदिनुस भन्दै आइरहेको छन्।" उनले भने।
 
बनेका घरहरु देखाउन भन्दै धुर्मुस अघि लागे। उनको पछी हामीहरु पनि लाग्यौ, पिल्लर भएका ब्लकको वाल लगाएका अधिकाशं घरहरुको निर्माण अन्तिम चरणमा पुगेका थिए। केहीमा हरियो रंग भएका जस्ता ठोक्ने क्रम चलिरहेको थियो। केहीमा रङ रोकन लगाउने क्रम भइरहेको देखिन्थ्यो। निमार्णको ब्यवस्थापनमा मुख्य भुमिकामा रहेका अर्जुन न्यौपानेलाई मैले सोधे : कतिजना काममा खटिरहेका छन् ? उनले जवाफ दिए ४८ जना नेपाली सेना, ७० जना स्थानीय, बाहिरबाट आएका स्वंयमसेवक करिव ४० जना सहित जम्मा ३२० जना जतिले लगातार काम गरिरहेको जानकारी दिए। यसरी पानी नपर्ने हो भने अबको एक हप्तामा ९५ प्रतिशत काम सकिने उनले बताए।
 
घर हेर्दै गयौ, साच्चै चिटिक्क, ४ कोठाको घर भित्रै एटेज ट्वाइलेट तथा फलामको सिडी चडेर माथि जाँदा माथिल्लो तलामा पनि बस्न मिल्ने गरि बनाएको पुरानो पाराको नेपाली घर हेर्दा गाउँमा बस्दाको याद आउथ्यो। सबैघरमा बाटो पुगेको तथा आँगन पनि थियो। अपाङ्गता मैत्री बनाउन काम भइरहेको थियो। बाल मैत्री, वातावरण मैत्री तथा सरकारले तोकेको अधिकाशं मापदण्ड अनुसार नै बनाएको उनीहले दावी समेत गरे। उनीहरुकै पहलमा  त्यस बस्तीमा आउने खानेपनी ब्यवस्थित बनाइएको थियो। बिजुलीका नयाँ खम्बा गाडिएर झिलिमिलि बढेको थियो। कच्ची बाटो पनि ग्लाभेल गराएका थिए।
 
सहयात्री मित्र अखील सिटौला र मलाई बन्दै गरेका घरको सितल तिर बोलाउदै धुर्मुसले भन्दै थिए। "भुकम्प पिडितको उद्दार, निर्माणमा लागेको पनि अव त डेड बर्ष हुन लागेछ। धेरैलाई मद्त त गरेकोले मनमा छुट्टै आनन्द महशुस भएको छ। धेरैको मुहारमा हाँसो त ल्याउन सकेका छौ तर कलाकारिताबाट बाहिर रहदाँ तथा पारिवारिक कतिपय समस्याले सताइरहदा कहिलेकाही भने खिन्न हुनु परेको छ।" उनले आफ्नै सम्झेर दुखेको पनि पोखे।
 
"दशै अगाडि नै बस्ती हस्तान्तरण गर्न पाए हुन्यो भनेर मन पोलिरहेको छ। दशै अगाडि नै सक्ने गरी तयारी गरे पनि पानी परिरहेकोले बाधा पर्ला जस्तो छ।" झन्डै १ घण्टा जति यस्तै यस्तै गफ गर्दै हामी तीन जना घरको छाँयामा बसेर बितायौ, गिरानचौर धुर्मुस सुन्तली बस्तीमा। कुराकानीको क्रममा उनले पटक पटक सम्झी रहे त्यो पुरानो दिन पहरी बस्ती निर्माणको सहयोगी सगुन डट कम लगायतको टिमलाई। 
 
हामी गफ गर्दे गर्दा निमार्ण कार्यलाई सहयोग गर्न आएका नेपाली सेनाका एक ब्यक्ति आएर धुर्मुसलाई बोलाउदै भने जर्नेलसाप आइपुग्नु भयो। अनि हामीले हाम्रो कुरा छोट्याऔ र महान कार्यको अग्रसर लिने सिताराम कट्टेललाई सलाम गर्दै ३ बजे तिर काठमाडौ फर्कियौ।
 
(२०७३ साल  असोज ११ गते मंगलबार धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्दै रहेको गिरानचौर बस्ती भ्रमण पछि आफ्नो डायरीमा उतारेको अंशबाट…)
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ