arrow

सुरक्षाका कारण मुखर्जीको पर्यटकीयस्थल अवलोकन कार्यक्रम स्थगित

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
Pranab-Mukherjee-new.jpeg

पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न राजकीय भ्रमणका क्रममा हुने भनिएको पोखराका विभिन्न पर्यटकीयस्थलको अवलोकन  कार्यक्रम स्थगित भएको छ ।

भ्रमण तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिन पोखरा पुगेका गृहमन्त्री विमलेन्द्र निधिले मुखर्जीको स्वास्थ्य समस्या र समय अभावका कारण स्थगित भएको जानकारी दिए ।

यद्यपि, टोलीलाई सुरक्षा ‘ब्रिफिङ’काक्रममा सुरक्षा कारण देखाउँदै मुखर्जीलाई पर्यटकीय स्थलहरुको भ्रमण गराउन नसकिने बताइएको विशेष स्रोतले जनाएको छ ।

यसअघि, भारतीय राष्ट्रपति मुखर्जी फेवातालको बीचमा रहेको तालबाराही र पोखराको विन्ध्यबासिनी मन्दिरमा पनि जाने बताइएकोमा अहिले ती स्थानको अवलोकन भने स्थगित भएको हो ।

मुखर्जी राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ भएको स्थानीय तयारी सम्बन्धमा निधिसहितको २२ सदस्यीय टोलीले जानकारी लियो ।

तयारीबारे जानकारी लिन उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, मुख्यसचिव, गृहसचिव, उच्च सुरक्षा अधिकारील पोखरा पुगे ।

राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्य रुपमा सफल बनाउन पोखरामा भइरहेका कामबारे पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी गराए ।

उच्चस्तरीय टोलीले राष्ट्रपति मुखर्जीले आराम गर्ने भनिएको पोखराको विरौटास्थित ग्रान्ड होटल, औपचारिक कार्यक्रम हुने भारतीय पेन्सन क्याम्पलगायतका स्थलको स्थलगत अवलोकन समेत गरेको छ ।

भ्रमणलाई सफल बनाउन मूल व्यवस्थापन समितिअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिले पोखरामा आफ्नो तयारीलाई अघि बढाइसकेका छन् । राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने हुनेछ ।

मुुखर्जी विमानस्थलबाट सिधै पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपराह्न ४.०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम  छ ।

यसैबीच, भ्रमणलाई मध्यनजर गरी पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन् ।

राष्ट्रपति मुखर्जीको स्वागतका लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागत्द्वार बनाइनेछ भने मुखर्जी सवार गर्ने बाटोमा नेपाल र भारतका झन्डा फहराइनेछ ।

त्यस्तै, मुखर्जीलाई नेपाली मौलिकपनमा आधारित सांस्कृतिक झाँकी, बाजागाजाल स्वागत् गर्ने कार्यक्रम छ । रामबजारस्थित भारतीय पेन्सनक्याम्पमा भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गरी मुखर्जी काठमाडौँ फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ