arrow

भारतीय राष्ट्रपतिको कार्यक्रम, यसरी हुन्छ ट्राफिक व्यवस्थापन

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
sawari-ko-purba-abhyas.jpeg
काठमाडौं। भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको सरकारले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई हामीले मुख्य प्राथमिकता दिएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
 
मुखर्जिको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए ।
 
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री महतका अनुसार राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ । त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ राजकीय रात्रिभोजको आयोजना गर्ने कार्यक्रम पनि छ ।
 
भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्ने र सोही दिन मुखर्जीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । मुखर्जीले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन समेत गर्ने छन् ।
 
राष्ट्रपति मुखर्जी नेपालमा रहँदा राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्ने छन् । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने छन् । यस्तै, जनकपुरमा मुखर्जीको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जाने छन् । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । 
 
भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बेला काठमाडौंको ट्राफिक व्यवस्थापन भने निकै जटिल हुने भएको छ। यहि जटिलतालाई मध्यनजर गरेर ट्राफिक प्रहरीले टा्रफिक व्यवस्थापनको योजना ल्याएको छ। कात्तिक १७ गते बिहान ११:३० देखि अपराह्न २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग भएर चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।
 
सोही दिन अपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले सूचना निकालेर अनुरोध गरिएको छ ।
 
सोही दिन अपराह्न १:४५ देखि ३:४५ बजेका अवधिमा गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।
 
सोही दिन साँझ ६:३० देखि बेलुकी ८:३० बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्रमा चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
 
राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन कात्तिक १८ गते बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
 
सोही दिन बिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने जनाइएको छ ।
 
त्यस्तै अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । कात्तिक १८ गते नै साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।
 
सोही दिन साँझ ६:३० देखि बेलुकी ८:३० सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सोही दिन बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ ।
 
भ्रमणको तेस्रो दिन कात्तिक १९ गते राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमनमा खासै वाधा नपर्ने देखिएको छ । सो दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ । उल्लिखित मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । मुखर्जीको भ्रमणका क्रममा सर्वसाधारणको सवारी आवागमनमा केहि असहजता भएपनि सवारी साधनको आवागमन ठप्प हुने हल्लालाई प्रहरीले नकारेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ