arrow

कुन्दुजमा तालिवान र अफगान सेनाबीच पुनः भिडन्त सुरु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
763774414.jpeg
कुन्दुज (अफगानिस्तान) । अफगान सुरक्षाबल र तालिबानबीच अफगानिस्तानको कुन्दुजमा पुनः भिडन्त सुरु भएको खबर छ । यी दुवै पक्षबाट स्थलगत रुपमा आक्रमण भएका छन् । स्थानीय प्रहरीले कुन्दुज सहरको उत्तरतर्फ सेना र तालिवानबीच भिडन्त भएका जनाएका छन् । दुवै तर्फ कैयौँको सङ्ख्यामा नागरिक मारिएका अनुमान गरिएको छ तर अहिले नै क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । 
 
शुक्रबार रातिदेखि सो सहरमा भिडन्त सुरु भएको समाचारमा जनाइएको छ । गत हप्तामात्र तालिवानको नियन्त्रणबाट अफगान सेनाले उक्त सहर फिर्ता लिएको समाचारमा जनाइएको थियो । बन्दार ए काबुल र सादार नगरमा सो भिडन्त सुरु भएको समाचारमा जनाइएको छ । यी दुई इलाकामा अफगान तालिवानले आक्रमण गरेका छन् । शुक्रबार सो आक्रमण सुरु भएपछि सो सहर पुनः तालिवानको नियन्त्रणमा जाने त्रास अफगान सुरक्षा निकायमा छाएको बताइएको छ । 
 
कुन्दुज सहरको बाहिरी भागमा अफगानिस्तानका तालिवानहरुले रकेट आक्रमण गरेका छन् । शुक्रबार राति भएको सो रकेट आक्रमणबाट एक पेट्रोल पम्पमा आगलागी भएको बताइएको छ । सो आगलागीमा परी कैयौँ घरहरुमा क्षति पुगेको छ । यसका साथै सो रकेट आक्रमणका कारण पनि कैयौँ घरमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् । 
 
कुन्दुजमा अफगान सेनाका एकजना ब्रिगेडियर जनरलले भनेका छन्– सो आक्रमणबाट कैयौँ नागरिक मारिएको अनुमान गरिएको छ, सर्वसाधारण पनि ठूलो सङ्ख्यामा घर छोडेर भागेका छन्, तर पनि सो सङ्ख्या अहिले नै दिनसक्ने अवस्था छैन । विशेषगरी रकेट आक्रमणबाट ती दुई नगरका घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । अफगान सेनाको एक समूहले दुई दिनमात्र अघि अफगानिस्तानको कुन्दुज सहरमा तालिवान आतङ्ककारीविरुद्ध भीषण कारबाही सुरु गरेको थियो । 
 
यसअघि तालिवानहरुले कब्जा गरेको बताएको सो सहर गतहप्तामात्र तीन दिनको निरन्तर प्रयासपछि सो सहर आफ्नो कब्जामा लिन अफगान सेना सफल भएको जानकारी अफगानिस्तान सरकारले दिएको थियो । अफगानिस्तानका तालिवान आतङ्ककारी समूहले उत्तरपूर्वीे सहर कुन्दुजको केही इलाका आफ्नो नियन्त्रणमा लिएपछि उनीहरुले सहरमा कब्जा जमाएका थिए । त्यस लगत्तै अफगान सुरक्षा बलले पनि कारबाही सुरु गरेको हो । 
 
तालिवानको नियन्त्रणमा रहेका ती इलाकाहरू फर्काउनका लागि अफगान सुरक्षाबलले स्थल कारबाही र अमेरिकी सैनिकले पनि हवाई कारबाही गरेको बताइएको छ । गएको सेप्टेम्बर महिनाको मध्यतिरबाट तालिवानहरुले सो नगरमा हमला थालेका थिए । जसका कारण २०० जनाभन्दा बढी सर्वसाधारण नागरिक मारिएका थिए भने हजारौँले घर छोडेर भागेका थिए । हाल आएर तालिवानले पुनः सो नगरमा हमला थालेका छन् । यसअघि अफगान सुरक्षाबलले विमानस्थल बाहिरका इलाकाहरु सुरुमा नै तालिवानबाट पुनः नियन्त्रणमा लिएका थिए । पछिमात्र हवाई कारबाही थालेर सो सहर फर्काइएको हो । 
 
गत जनवरीबाट नेटो सैनिकले अफगान युद्ध सकिएको घोषणा गरेपछि अफगानिस्तानमा सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमा नै आएको छ । करिब १२ हजारको सङ्ख्यामा अफगानिस्तानमा अझै पनि अमेरिकी सैनिक रहेका छन् र उनीहरुले अफगान सैनिकलाई तालिमलगायत युद्धका लागि सरसल्लाह दिने गरेका छन् । तर अफगानिस्तानमा शान्तिको अवस्था भने घटेको छैन । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ