arrow

भारतीय राष्ट्रपति पशुपतिनाथमा, पूजा सुरु हुँदै, मुखर्जीको विशेष सुरक्षा

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
mukharjee.jpeg
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीे पशुपतिनाथ मन्दिरको विशेष पूजाका लागि पशुपति पुगिसेका छन् । उनलाई प्रवेशद्धारदेखि नै विशेष स्वागत गरिएको छ । 
 
दर्शनका लागि पशुपति क्षेत्रमा संगीतको पनि गतिलो प्रवन्ध गरिएको छ । तीन समूहले स्थानीय नेवारी संस्कृतिको धिमे तथा बाँसुरी बाजाको प्रयोग गरिरहेका छन् । 
 
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गरेका छन् ।  
 
गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गरेका छन् । 
 
मुखर्जीले बिहान ९ बजेदेखि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भनिए पनि १० बजेदेखिमात्र सुरु गर्ने जनाइएको थियो । तर मुखर्जी भने १०ः१५ मा पशुपति आइपुगेका हुन् ।
 
मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दैछन् ।  
 
यो विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भीभीआइपीको विशेष भ्रमणमा नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मी खटिने गर्छ ।  
 
मुखर्जीको सुरक्षाका लागि सबै ठाउँमा गरेर तीन हजार नेपाल प्रहरी खटिएको प्रहरी प्रवक्ता डीआइजी हेमन्त मल्लले जनाएका छन् ।
 
पशुपति क्षेत्रमा हुन सक्ने जुनसुकै खतरा पन्छाउन सुरक्षाकर्मी तयारी अवस्थामा छ । नेपाली सेनाको बम डिस्पोजल टोलीसमेत खटिएको छ । 
 
राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषकातर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ । 
 
भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन् । यसअघि पूर्वराष्ट्र«पति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गरेका थिए । 
 
पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र भन्ने गरिएको छ ।
 
राष्ट्रपति मुखर्जीले कम्तीमा एक घण्टा पशुपतिमा पूजा गर्ने पनि जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ