arrow

मुखर्जीले सम्झिए बेलायती उपनिवेशबाट भारतलाई मुक्त गराउन नेपालले गरेको योगदान

भने–नेपालको प्रगति र विकासमा सहयोग गर्ने भारतको प्रतिवद्धता

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
news-mahangar-avinandan.jpeg

काठमाडौं। भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको निरन्तर प्रगति र विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । काठमाडौँ महानगरपालिकाले विहिबार साँझ आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपालको विकासका प्राथमिकता तथा भूकम्पपछिको पुनःनिर्माणमा भारतले सघाउने बताए ।

मुखर्जीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला घोषित सहायता रकम यहाँका विकास–निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे । भारत र नेपालबीचको फलदायी सम्बन्धबाट आफू सन्तुष्ट रहेको भन्दै भारतीय राष्ट्रपति मुखर्जीले भने– २००७ सालदेखि नै भारतले नेपालको सामाजिक–आर्थिक विकासमा मद्दत गर्दै आएको छ ।

आर्थिक उन्नयन र दिगो विकासका लागि बाह्य सहायताको अपरिहार्यतामा जोड दिँदै मुखर्जीले भने, ‘भारतको सहयोगमा सडक, पुल, सिँचाइ आयोजनालगायत भौतिक पूर्वाधार निर्माणमा साना तथा ठूला आयोजना सञ्चालनमा छन् भने ।’ नेपाली समाजका सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति मुखर्जीले त्यसबाटै नेपालको विकासको मार्ग प्रशस्त हुने विश्वास गरे ।

नेपालको आर्थिक प्रगति, राजनीतिक स्थायित्व र शान्ति भारतको चाहना रहेको र त्यसमा भारतको सदैब साथ रहने मुखर्जीले बताए । राष्ट्रपति मुखर्जीले बेलायती उपनिवेशबाट भारतलाई मुक्त गर्न आफ्नो मुलुकका नेताहरुले थालेको आन्दोलनमा नेपालका नेताहरुबाट भएको योगदानको स्मरण गर्दै त्यसलार्ई भारतले उच्च सम्मान गरेको बताए ।

भारत र नेपालबीचको ऐतिहासिक एवँ परम्परागत सम्बन्धलाई भारतले उच्च महत्व दिएको र आफ्नो भ्रमणको उद्देश्य पनि दुई देशबीच समझदारी अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र प्रगाढ बनाउनु हो भने । राष्ट्रपति मुखर्जीले भारत र नेपालबीचको सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुदृढ एवं प्रगाढ रहेको बताए ।

मुखर्जीले भने, ‘काठमाडौँ राजनीतिक राजधानी मात्र नभई अध्यात्मको केन्द्र पनि हो । हजारौँ भारतीय पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न यहाँ आउँछन् । नेपालीहरु पनि काशी विश्वनाथलगायत भारतका अन्य तीर्थयात्रामा निस्कन्छन् । यो मेरो भ्रमण तीर्थयात्रा पनि हो ।’

पवित्र सहर काठमाडौँका जनताबाट न्यानो स्नेह पाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति मुखर्जीले नागरिक अभिनन्दनप्रति कृतज्ञता प्रकट गरे । मुखर्जीले विगतको तुलनामा काठमाडौँ धेरै परिवर्तन भएको बताउँदै सुन्दर सहर काठमाडौँ राजनीतिक राजधानी मात्र नभई आध्यात्मिक पवित्र शहर पनि हो –भने ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई काठमाडौँ महानगरपालिकाको प्रतिकात्मक साँचो हस्तान्तरण गरे ।

कार्यकारी प्रमुख तामाङले राष्ट्रपति मुखर्जीको भ्रमणबाट नेपाल–भारतबीच रहेको सदियौँदेखिको घनिष्ठ सम्बन्ध नयाँ आयममा विकसित हुन पुगेको विश्वास व्यक्त गर्दै सामाजिक, आर्थिक तथा सांस्कृतिक सामिप्यताका साथै नागरिक तहमा रहेको बहुआयामिक सम्बन्ध र आपसीहित प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

सो अवसरमा राष्ट्रपति मुखर्जीले काठमाडौँ महानगरपालिकाको पुस्तिकामा हस्ताक्षर गरेका थिए भने कार्यकारी प्रमुख तामाङले उपत्यकाको काठको कलात्मक ढोकाको प्रतीक र मञ्जुश्रीको मूर्ति उपहार प्रदान गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ