arrow

मुलुक दुर्घटनाको संघारमा, मोर्चाको छट्पट्टी दलहरुलाई भारी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
barta-k-ho-la-jpg.jpg.jpeg
काठमाडौं । संविधान संशोधनकै विषयलाई लिएर चुलिएको राजनीतिक विवाद सहतमा पुगेपछि शीर्ष दलहरु र असन्तुष्ट पक्षबीचको सम्वाद निरस बनेको छ ।  दलहरुको पटक–पटकको प्रयास उपलब्धिहिन हुँदै आएको छ । राजनीतिक अस्थिरता लम्बिंदै गएकाले मुलुक दुर्घटनातर्फ मोडिएको टिप्पणी हुन थालेको छ । 
 
सत्ताधारी, विपक्षी र असन्तुष्ट तीनै पक्ष आ–आफ्नो अडानबाट टस–मस नभएपछि आइतबार प्रधानमन्त्रीले डाकेको वार्ता समेत निष्कर्षविहिन भयो । सरकार र प्रमुख विपक्षी काँग्रेस तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच भएको तेस्रो चरणको वार्ता निष्कर्षमा पुग्न नसकेको हो । 
 
उपलब्धिहिन वार्ताले नेपाली राजनीतिक दल र सरकारप्रति नागरिकको दृष्टीकोण बदलिएको छ । मोर्चाका केही नेताहरु दिल्ली भ्रमण दौरान दिएका अभिव्यक्ति र परराष्ट्रमन्त्री कमल थापासंग भएको चार बुँदे रोडम्यापबारे तातो बहस भइरहेका बेला प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा संविधान संशोधन विधेयक अघि बढाउनेबारे कुरा मिल्न नसक्दा छलफल परिणाम मूखि हुन नसकेको हो ।
 
मोर्चाका नेताद्वय राजेन्द्र महतो र उपेन्द्र यादवले दिल्ली भ्रमणका क्रममा विखण्डनकारी थुप्रै अभिव्यक्ति दिएका छन् । मोर्चाका चार नेता स्वदेश फर्किएपनि महतो दिल्लीमै रहेर हिंसात्मक बाटो रोज्ने र छुट्टै मुलुकको माग अघि बढाउने धम्कि दिइरहेका छन् । 
 
यता, सत्तारुढ र विपक्षी दलले दुबै विधेयक भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधनसम्बन्धी विधेयकलाई सँगै लैजाने सहमति भए पनि मधेसी मोर्चाले त्यसमा आपत्ति जनाएको छ ।  
 
तत्कालिन संशोधन विधेयकले आफूहरुको मुद्दालाई सम्बोधन गर्न नसक्ने भन्दै मोर्चाले दुबै विधेयक एकैपटक अघि बढाउन नदिने अडान राखिरहेको छ । मोर्चाको छट्पट्टीले दलहरुलाई निकै गाँजेको छ ।
 
सिंहदरबारमा कुरा नमिलेपछि संविधानसभाका सभामुख तथा शीर्ष दलका प्रमुख सचेतकसहित शीर्षनेताबीच छलफल गरेर सहमति खोज्ने भन्दै नेता संविधानसभा भवन नयाँ बानेश्वरतर्फ हानिए । करिब डेढ घन्टा भएको वार्तामा दुई विधेयकमाथि छलफल भएपनि राजनीतिक मुद्दामा छलफल नभएको नेताहरुले बताएका छन् । 
 
बैठकपछि उपप्रधानमन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकलाई पारित गर्न सबै सहमत भएपनि संविधान संशोधनसम्बन्धी प्रस्तावलाई सँगै लैजाने भन्नेबारे कुरा नमिलेको बताए । 
 
रावले भने,‘प्रधानमन्त्रीले दुवै दल, प्रतिपक्षी नेपाली काँग्रेस र मोर्चालाई पनि विशेष रुपमा आग्रह गर्नुभएको छ, अब हामी प्रमुख सचेतकसहित सभामुखसँग छलफल गरेर टुङ्गो लगाउछौँ ।’ काँग्रेस उपसभापति रामचन्द्र पौडेलले वार्तामा सदन सञ्चालनबारे कुराकानी भएपनि कुनै सहमति नभएकाले सभामुखसँग पुनः छलफल गरेर सहमति खोजिने बताए ।  
 
एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राधिकरण विधेयक र संविधान संशोधनसम्बन्धी विधेयक दुवैलाई अगाडि बढाउनुपर्छ भन्ने नेपाली काँग्रेस संविधान संशोधनसम्बन्धी विधेयक पनि एकैचोटी अघि बढाए सदन अवरुद्ध गर्ने मोर्चाले अडान लिएपछि सहमति हुन नसकेको बताए ।  
 
मोर्चाको एक घटक सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकार र प्रतिपक्षी नेपाली काँग्रेसबीचको संसद् खुलाउने झगडाले आफूहरुको एजेण्डा ओझेलमा परेको सुनाए । मोर्चाले पुरानै कुरा भो भन्दै पुनःनिर्माण विधेयक र संविधान संशोधनलाई सँगै अगाडि बढाउने भए प्याकेजमा मात्रै सहमति हुनुपर्ने अडान लिएको छ । 
 
वार्तामा सहभागी तमसपाका वरिष्ठ नेता रामनरेश रायले आफुहरुलाई पुरानै कुरा भनेका बताए । उनले भने,‘हामीले पनि दुवै बुँदालाई सँगै लाने हो भने प्योकजमा मात्रै सहमति हुने कुरा राखेका हौं ।’ विपक्षी कांग्रेसले अब संसदमा कसरी जाने भनेर प्रधानमन्त्री र सभामुख सँग छुट्टाछुट्टै छलफल गर्ने जनाएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफुहरुले पुनःनिर्माण विधेयकसँगै संविधान संशोधनलाई पनि अघि बढाउन भनेका भन्दा अरुले नमानेको सुनाए । 
 
वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री भीमबहादुर रावल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, काँगे्रस उपसभापति पौडेल, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र नेता आनन्दप्रसाद ढुङ्गाना तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, महेन्द्रराय यादव र लक्ष्मणलाल कर्ण सहभागी थिए । फाइल : तस्वीर 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ