arrow

अमिताभ बच्चन काठमाडौं आउँदा...

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
amitabh-shamitabh.jpeg
काठमाडौं। बलिउड ‘सुपरस्टार’ अमिताभ बच्चन काठमाडौं सानैमा दुईपटक आइसकेका थिए, बाबुसँग। तर, त्यसले खासै अर्थ राखेन। उनी आउँदा काठमाडौंलाई थाहा पनि भएन। तर, धेरैपछि जब उनी पहिलोपटक फिल्म सुटिङका लागि काठमाडौं आए, त्यतिवेला काठमाडौं पूरै तात्यो। काठमाडौंमा उनको फिल्म ‘महान्’ सुटिङ हुँदा उनले बलिउडमा राम्रो स्थान बनाइसकेका थिए। तर, यो फिल्म उनको जीवनका लागि झन् महत्वपूर्ण थियो।
 
यो फिल्म उनका लागि महत्वपूर्ण हुनुका दुई कारण थिए। पहिलो, दक्षिण भारतीय फिल्म उद्योगमा यही फिल्मबाट अमिताभले ‘इन्ट्री’ गरेका हुन्। दोस्रो, यो फिल्ममा उनी तेहोरो भूमिकामा थिए। उनकै आदर्श दिलीपकुमारले त्यसअघि ‘वैराग’मा तेहोरो भूमिका निर्वाह गरेका थिए।
 
फिल्म सुटिङकै लागि आए पनि अमिताभ बच्चन त्यतिवेला सपरिवार आएका थिए। पिता कवि डा. हरिवंशराय बच्चन, माता तेजीसुरी बच्चन, अनि पत्नी जया भादुरी बच्चन मात्र होइन, अमिताभले काठमाडौंमा छोरा–छोरी (अभिषेक र श्वेता) दुवैलाई लिएर आएका थिए।
 
तेस्रोपटक काठमाडौंमा आउँदा उनले पहिलेका दुई घटना पनि याद गरेका थिए। उनले बाल्यकालमा देखेको त्यो काठमाडौं र पछिको काठमाडौंको तुलना पनि गरेका छन्। बाल्यकालमा आउँदा उनी झन् लामो समय काठमाडौंमा बसेका थिए।
 
फिल्म सुटिङका लागि भारतबाट त्यसअघि पनि कलाकार आइसकेका थिए। राजेश खन्ना, देव आनन्दपछि काठमाडौं आएका अमिताभले त्यतिवेला भारतमा राजेश खन्नाबाट ‘सुपरस्टार’को ताज छिनिसकेका थिए। फिल्म उद्योगले उनलाई सुपरस्टारको पदवी दिएको भए पनि जीवनका कठिन दिनको यात्रामा अमिताभ थिए।
 
तर, काठमाडौंमा अमिताभले त्यो कठिनाइ महसुस गर्न पाएनन्। यो एउटा संयोग पनि हुन सक्थ्यो। उनी आएको केही समयपछि नै नगरपञ्चायतको निर्वाचन हुँदै थियो। यही कारणले पनि हुन सक्छ, काठमाडौंका अधिकांश कलेज तथा स्कुल बन्द भएका थिए। मानिसमा फरक उत्साह थियो, त्यही उत्साहमा अमिताभको भ्रमणले केही ताप थपेको थियो।
 
अर्कोतिर अमिताभको त्यो काठमाडौं बसाइ किन पनि विशेष भयो भने उनलाई राजपरिवारले खुला रूपमा स्वागत गरेको थियो। २०४० सालमा राजपरिवारको हरेक कुरा सुन्न र मान्न जनता बाध्य थिए। यहीवेला अमिताभले दरबार मात्र होइन, राजपरिवारका आफन्तको पनि न्यानो स्वागत पाएका थिए। उनका लागि शाहज्यादीको घरमा रात्रिभोजको आयोजना नै गरिएको थियो।
 
राजपरिवारबाट न्यानो स्वागत पाएका अमिताभलाई होटेल अन्नपूर्णले पनि रात्रिभोज दिएको थियो। अमिताभको नेपालमा भएको यस्तो स्वागत र प्रख्यातिले उनका बाबुलाई पनि पक्कै छोएको हुनुपर्छ। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। त्यसैले पनि हुनुपर्छ, उनले आफ्नो आत्मकथामा अमिताभको यो भ्रमणबारे लेखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ