arrow

नेप्से एक्काइस अङ्कले ओरालोमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1381165714.jpeg
 
काठमाडौँ । लगातारको बन्द र भारतको अघोषित नाकाबन्दीको नकारात्मक असर पूँजीबजारमा पनि पर्न थालेको छ । गत साता सकारात्मक रहेको नेप्सेमा लगानीकर्ता हतास भएपछि नकारात्मक भएको हो । गत साता नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा १८।६५ अङ्कले वृद्धि भएको थियो । यो साता पहिलो दिनको तुलनामा २१।४२ अङ्कले कमी आएको छ । यो पटक साताको नेप्से परिसूचकमा अन्तिम दिन एक हजार १६२।०६ विन्दुमा पुगेको छ । 
 
यस साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीको १० हजार ५७३ कारोबारबाट रु दुई अर्ब १३ करोड ९७ लाख ५१ हजार बराबरका ३७ लाख ६५ हजार २८० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७।६५ प्रतिशत बढी हो । गत साता १५१ कम्पनीको नौ हजार ९१४ कारोबारबाट रु एक अर्ब ९८ करोड ९५ लाख ८० हजार बराबरका ३० लाख ७५ हजार १० कित्ता सेयर खरिद बिक्री भएका थिए । 
 
समूहगत परिसूचकको उतारचढावमा यो साता वाणिज्य बैंक समूहको परिसूचकमा २७।०८ अङ्कले कमी आएको छ । त्यसैगरी वित्तमा ०।५५, होटलमा २७।६९, जलविद्युत्मा २५।२४, बिमा ६४।१६, अन्य समूहमा १।१८ अङ्कले कमी आएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यो साता सबैभन्दा बढी उत्पादनमूलक समूहमा १५२।५३ अङ्कले कमी आएको छ भने व्यापार समूहमा कुनै परिवर्तन भएको छैन । 
 
यो साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४।९४ अङ्कले घटेर २५१।६४ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा इन्टरनेसनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा छ । 
 
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता विजय लघुवित्त वित्तीय संस्थाको १४ लाख, वरुण हाइड्रोपावर कम्पनीको २४ लाख ३० हजार र महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाको एक करोड १० लाख साधारण सेयर सूचीकृत भएका छन् । यसैगरी, सिद्धार्थ बैंकको पाँच लाख ऋणपत्र सूचीकृत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ