arrow

स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय समिति सक्रीय

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधार तथा पुनः संरचनाका लागि स्वास्थ्य मन्त्रालयद्धारा गठित उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति ले आफ्नो काम सुरु गरेको छ ।  स्वास्थ्य मन्त्री गगनकुमार थापाको अध्यक्षतामा गत बिहीबार गठन भएको १३ सदस्यीय समितिले मंगलबार पहिलो बैठक बसी दुई महिना भित्र संपूर्ण काम सक्नेगरी कार्ययोजना बनाएको छ । 
 
बैठकमा राज्यको पुनःसंरचना भएपछि बन्ने नयाँ व्यवस्था अनुसार स्वास्थ्य सेवा तथा संरचनालाई रुपान्तरण गर्नका लागि अहिले सम्म भईरहेको प्रयासको समिक्षा भएको स्वास्थ्य मन्त्री थापाले जानकारी दिए । 
“स्वास्थ्य सेवा, संरचना र नीतिगत व्यवस्थाको समग्र पुर्नसंरचनाका लागि विगतमा भएका प्रयासलाई समेत मध्यनजर गर्दै भोलीको नेपालको स्वास्थ्य क्षेत्र कस्तो हुन्छ भन्ने कुराको खाका हामीले बनाउन लागेका हौं,” उनले भने। उनले खाका बनाउदा संघियतालाई मुख्य आधार बनाईने बताए । 
 
समितिलाई स्वास्थ्य मन्त्रालय र अन्तर्गतका लागि उपयुक्त संरचनाको खाका तयार पार्ने, स्वास्थ्य नीति, योजनालाइ संघीय संरचना अनुरुपको बनाउन सुझाव, सल्लाह, सहयोग र समन्वय गर्ने कार्यक्षेत्र तोकिएको छ । 
त्यसैगरी विद्यमान स्वास्थ्य क्षेत्रका कानुनहरुलाइ समयानुकुल बनाउनका लागि सुझाव तथा मार्ग निर्देशन गर्ने जिम्मेबारी पनि समितिले पाएको छ । साथै समितिले स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक देखिएका विषयबस्तुमा रुपान्तरण तथा परिवर्तनका लागि मार्ग निर्देश गर्ने भएको छ । 
 
दिईएको जिम्मेबारी तोकिएकै समयभन्दा अगाडी सक्नेगरी सक्रिय भएको उच्चस्तरिय समितिले आउदो शुक्रबार संविधानमा भएको स्वास्थ्य संवन्धी व्यवस्थामा छलफल गर्ने भएको छ । नयाँ संविधानमा आधारभुत स्वास्थ्य सेवालाई अनिवार्य गरिएकाले त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा विज्ञहरुले नितिगत, कानुनी र संरचनागत प्रारुप तयार पार्न लाग्नु भएको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । उच्चस्तरिय समितिमा स्वास्थ्य, संघियता, पुर्नसंरचना, कानुन लगायतका विभिन्न विषयका विज्ञहरु सदस्य रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ