arrow

सुजातालाई ५० लाख दिइएकामा सांसदले गरे संसदमा हंगामा

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
samsad.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख सहयोग दिइएकामा आपत्ति जनाएका छन् ।

व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताए ।

उनले भने, “जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक छ । मापदण्ड नै नबनाई रकम बाँडिनु पूर्णतः गलत छ ।’’

वर्तमान सरकार गठन भएलगत्तै पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ६० लाख रकम बाँडिएको, यादवका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिला उपचार रकमको अभावमा भैरहवामा निधन हुनु कसरी तालमेल भयो भन्दै सांसद ज्वालाले आपत्ति जनाए ।
उपचार रकम नै दिनुपर्ने भए व्यवस्थित कार्यविधि बनाएरमात्रै दिन र मनलाग्दी तबरले राज्यकोषको रकम नबाँड्न उनले सरकारको ध्यानाकर्षण गराए । यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

सांसद गिरीले स्वास्थ्यमन्त्रीले कार्यविधि ल्याउन लागेको भनेर प्रचार गराउने तर आफ्नै पार्टीका नेतालाई रकम वितरण गर्ने प्रवृत्ति पूर्णतः गलत भएको धारणा राखे ।

राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हकविपरीत रहेको बताए ।

माओवादी केन्द्रका सांसद दुलारी हरिजनले छठ पर्वको समयमा सार्वजनिक पोखरीमा नुहाउनसमेत नदिएको भन्दै दोषीउपर कारबाही गर्न माग गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका सांसद ईश्वरी न्यौपाने धान काट्ने समयमा किसानले धानको उचित मूल्य नपाएको भन्दै धानको समर्थन मूल्य तोक्न र सरकारले नै धान उत्पादन हुने क्षेत्रमा काँटा राखेर खरिद गर्न सरकारको ध्यानाकर्षण गराइ्न् ।

माले सांसद चन्द्रप्रकाश मैनालीले आवश्यकताका आधारमा मात्रै संविधान संशोधन गर्न आग्रह गरे । उनले राज्यका महत्वपूर्ण पदमा अङ्गीकृत नागरिकलाई कुनै पनि स्थान दिन नहुने र हचुवाका आधारमा राज्य पुनःसंरचना गर्न नहुने धारणा राखे ।

नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापाले भूकम्पपीडित जनताले हालसम्म राहत रकम नपाएको, स्वास्थ्यकर्मीको अभावमा नागरिक उपचार नपाएर मर्नुपरेको भन्दै गुनासो गरे । उनले आफ्नो सम्पत्ति भएकालाई राज्यकोषबाट रकम दिने व्यवस्था तत्काल अन्त्य गर्न आग्रह गरे ।

एमाले सांसद चूडामणि जङ्गलीले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा मध्यरातसम्म लाइनमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ