arrow

भूकम्प पीडितको अनुदानको पैसा आगलागीमा

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
fire.jpeg
दोलखा । डढेको पैसाको पोको बोकेर ७४ वर्षीय भीमबहादुर कार्की सदरमुकाम चरिकोटमा भौंतारिरहेका छन् । भूकम्पपीडित भएबापत घर बनाउन आएको अनुदान रकम आगलागीमा परेर डढेपछि उनी हतास मनस्थितीमा सदरमुकाम पुगेका हुन् ।
 
डढेको पैसा सटहीका लागि साहारा खोज्दै आएका उनले सबै बैंक चहारिसके। तर कुनैपनि बैंकले ती नोट साट्न नमानेको गुनासो गरे । 
 
‘घर बनाउन भनेर ज्यामी काम गरेर जोगाएको ६७ हजार र सरकारले दिएको ५० हजार स्वाहा भयो,’ उनले भने । 
 
लापिलाङ  ९ का भीमबहादुरको कात्तिक १९ गते दिउँसो कटेरो जल्दा पैसा र अन्य सम्पत्ति जलेको हो । उनले कटेरोमा रहेको ट्याङभित्र ज्याकेटको खल्तीमा ६७ हजार राखेका थिए । 
 
सरकारले घर बनाउन दिएको ५० हजार बैंकबाट झिकेर ट्याङभित्रै ज्वारिकोटको गोजीमा हालेका थिए । पैसा र भएको सम्पत्ति सबै स्वाहा भएपछि हारगुहार गर्दा जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार र कागजको निस्सा पाए । 
 
रेडक्रसले पाल दियो । तर, उनले डढेको पैसा सटही र क्षतीपूर्तिको उचित सुविधा भने अझै नपाएको बताए ।
 
पत्नी र छोराछोरी वियोगको घटनाले विछिप्त भीमबहादुरले ६७ हजार रुपैयाँ घर बनाउँन भनेरै जोहो गरेका थिए । भूकम्प गएपछि घर बनाउन दिनरात अर्काको घरमा ज्यामी गर्थे र खाइनखाइ पैसा जम्मा पार्थे । 
 
आउने सामाजिक सुरक्षा भत्ता पनि भोक मारेर जोगाएको बताए । ‘भोक र तिर्खा सहेर बचाँएको पैसा सबै गयो हजुर,’ उनले भने ।
 
भीमबहादुरका अनुसार आगोले पग्लने ज्याकेट भएकाले ६७ हजार रुपैयाँको खरानी पनि पाइएन् । कपडाको ज्वारिकोटमा राखिएकाले ५० हजार रुपैयाँको चाहीँ केही निस्सा देखिन्छ । 
 
छिमेकीले नोटको एकापट्टि कागज टाँसेर बनाइदिएका पैसा सटहीका लागि उनले चिनजानका मानिस पठाए तर नसाटिएपछि आफै चरिकोट धाएका हुन् ।
 
आजभन्दा ३४ बर्षअघि श्रीमती गुमाएका भीमबहादुरले त्यसपछि नौ र छ बर्षिया छोरी र दुई बर्षिय छोरा गुमाउनु पर्‍यो । उनको भनाई मा दुई छोरी दादुराले मरे । 
 
आमा र छोरा भने दिसा पिसाबबाट रगत जाने व्यथाले गए । ‘उपचार गर्दा केही लागेन,’ उनले पुरानो दुर्दशा दर्शाउदा आखाँबाट आशु झर्न लागेको देखिन्थ्यो ।
 
‘भाग्यले कान्छी छोरी र जेठो छोरो बाच्यो तर अहिले आफ्नो साथमा छैनन,’ भीमबहादुर भन्छन, ‘छोरीको विहे भयो । छोरासँग भने चित्त नबुझेर एक्लै बस्छु ।’ 
 
भिन्न भएपछि पहाडको छ रोपनी बारी र तीन पाथी विऊ जाने खेत उनको नाममा परेको छ । त्यसैबाट गुजारा गर्ने उनी फुर्सदका बेला घर बनाउने काममा खट्छन् ।
 
आगोले सबै सम्पत्ति नष्ट भएपछि बुढ्यौलीमा भूकम्पप्रतिरोधी घर बनाउने उनको चाहना पुरा हुने छाट छैन । अब उनलाई डढेको पैसा साटिएला की नसाटिएला भन्ने चिन्ता छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ