arrow

स्क्रब टाइफसबाट एक महिनामै चारको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
scrub-typhus.jpeg
रत्ननगर । स्क्रब टाइफस रोगबाट कात्तिकमा मात्रै चितवनमा चारजनाले ज्यान गुमाएका छन् । कात्तिक अन्तिम साता चितवनमा थप एक महिलाको मृत्यु भएपछि एकै महिनामा स्क्रब टाइफस रोगबाट मृत्यु हुने चार पुगेको हो । 
 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका–२२ निवासी ३५ वर्षीया महिलाको उक्त रोगका कारण मुत्यु पुष्टि भएको हो ।
 
 “कात्तिक अन्तिम साता मृत्यु भएको जानकारी आएको थियो, भेरिफाई गर्दा स्क्रब टाइफस नै प्रमाणित भयोे”, जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए । 
 
ती महिलाको चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको केसीले बताए । 
 
चितवनमा असारदेखि कात्तिक अन्तिमसम्म स्क्रब टाइफसबाट ६ जनाको मृत्यु भएको छ । कात्तिकमा मात्रै चारजनाको ज्यान गएको छ । 
 
यो वर्ष गएको असार २८ गते पश्चिम चितवनको मङ्गलपुरका ४५ वर्षीया एक महिलाको मृत्यु भएको थियो । कात्तिक १ गते पूर्वी चितवनको कालिका नगरपालिका–६ का १४ वर्षीया बालिका र कात्तिक ४ गते रत्ननगर नगरपालिकाकी १४ वर्षीया बालिकाको ज्यान गएको थियो । 
 
यस्तै, कात्तिक दोस्रो साता पश्चिम चितवन गुञ्जनगरकी ७१ वर्षीय वृद्धाको मृत्यु भएको थियो । 
 
अहिले कात्तिक अन्तिम साता भरतपुर—२२ की ३५ वर्षीया महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 
 
चितवनमा यो वर्ष चारसय ७१ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको छ । मुसाको शरीरमा हुने सूक्ष्म माइट नामको किराले टोकेमा यो रोग सर्ने कार्यालयका सूचना अधिकारी नरहरि शर्माले बताए । 
 
विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ । नेपालमा स्क्रब टाइफसबाट अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ