arrow

साफ च्याम्पियनसिप : अनिलको कप्तानीमा २० सदस्यीय टोली

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
anfa-1.jpg.jpeg

काठमाडौं । आगामी पुस ८ गतेदेखि भारतमा हुने साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले आज पत्रकार सम्मेलन गरी २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको फर्वार्ड लाइनमा अनिलसँगै जगजित श्रेष्ठ, विमल घर्ती मगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र नवीन लामा छन् ।

मिडफिल्डमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई र योगेश गुरुङ तथा डिफेन्डरमा रञ्जित धिमाल, रवीन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी र विराज महर्जन छन् । गोलकिपरमा किरण चेम्जोङसँगै विकेश कुथु र अमृत चौधरी छन् ।

साफमा नेपाल आयोजक भारत र श्रीलङ्कासँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बङ्गलादेश र भुटान छन् । नेपाल साफमा कहिल्यै सेमिफाइनलभन्दा माथि पुगेको छैन । नेपालले पहिलो दिन श्रीलङ्कासँग तथा पुस १२ गते भारतसँग खेल्नेछ । साफ च्याम्पियनसिपअघि नेपाली टोलीले पुस २ गते ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नियमित कप्तान सागर थापा र उपकप्तान सन्दीप राई म्याच फिक्सिङमा संलग्न भएको पाइएपछि आजीवन प्रतिबन्धमा छन् । त्यसैले अनिलले राष्ट्रिय टोलीको नयाँ कप्तान बन्ने अवसर पाएका हुन् । यस्तै नवीन र गोलकिपर अमृत पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । राष्ट्रिय लिग सकेलगत्तै एन्फाले प्रारम्भिक चरणमा ४१ खेलाडी बोलाएको थियो । दोस्रो चरणमा छनोट भएका २७ मध्ये भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठ चोटका कारण टोलीबाट बाहिर रहेको बताइएको छ । तस्वीर : एन्फा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ