arrow

संविधान संशोधनमा तीन दल सहमति नजिक

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
three-dal-baluwatar.jpeg
काठमाडौँ। संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसद्मा दर्ता गर्ने सहमति बनेको छ । 
 
तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको महसुस तीनै शीर्ष नेताले गरेको र उनिहरुबीच संशोधनका विषयमा सकारात्मक छलफल भएको उनले बताए । 
 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा संशोधन गर्न खोजिएका विषयहरु प्रस्तुत गरेका थिए । शीर्ष नेताहरुबीच प्रदेशको सीमाङ्कन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका विषयमा गम्भीर र सकारात्मक छलफल भएको नेता पुनले जानकारी दिए । 
 
सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गर्दै आएका छन् । सरकारले गएको कात्तिक महिनाभित्र संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने वचन दिएको थियो । 
 
बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता पुन सहभागी थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ