arrow

अर्कैको अस्पताल देखाउनेलाई सीटीइभीटीबाट सम्बन्धन दिन यस्तो चलखेल

कर्मचारी संगठन आन्दोलित, भीसी र सदस्य सचिवलाई घेरे

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Ministry-Education-hamrakura-new-.jpg.jpeg

काठमाडौं । शिक्षा मन्त्रालयले आफ्नै अस्पताल नभएका संस्थालाई समेत सीटीइभीटी अन्तर्गतका स्वास्थ्यका कार्यक्रमको सम्बन्धन दिन लागेको छ । स्वास्थ्यका फार्मेसीबाहेक अन्य कार्यक्रमको अभ्यास गराउन अस्पताल आवश्यक पर्नेमा आफ्नो अस्पताल नभएकाहरुलाई शिक्षामन्त्री धनिराम पौडेल अध्यक्ष रहेको सीटीईभीटी परिषदले सम्बन्धन दिन विहिबार बैठक नै डाकेको छ ।

त्यसको विरोधमा सीटीइभीटीका कर्मचारी संगठनहरु आन्दोलित भएका छन् । सीटीइभीटी कर्मचारी संघले भीसी र सदस्यसचिवलाई कोठामा राखेर बैठकमा जान दिएका छैनन् । कर्मचारी संगठनले सानो ठिमीस्थित टीआइटीआइको प्रशिक्षण केन्द्र अगाडि धर्ना दिइरहेका छन् । 

संघका महासचिव शंकर कोइरालाले भने, ‘हामीले यी संस्थाहरुले सीटीइभीटीमा हालेको प्रस्तावको सम्बन्धन दिन हुँदैन भनिरहेका छौं । कर्मचारी संगठनलाई नै धरापमा पार्ने गरी प्रक्रिया अघि बढाउन खोजिदै छ । सीटीइभीटीकै परिषद् सदस्यहरुलाई समेत यो मन परेको छैन ।’ उनीहरुले विरोध गरिरहेका छन् ।

परिषद्को छलफलमा हाम्रो संगठनका प्रतिनिधि पनि जानु पर्छ, उनले भने, ‘हामीले प्रतिनिधि पठाउँदैनौं । बहिस्कार गर्छौं । प्रस्ताव लैजाने भीसी र सदस्य सचिवहरुलाई समेत हामीले जान दिएका छैनौं ।’ जबरजस्ती गर्न खोजिदै छ । धर्नामा अन्य कर्मचारी संगठनहरुले समेत समर्थन गरेका छन् ।    

सम्बन्धन दिन लागेका संस्थाले अन्य अस्पतालमा प्रयोगात्मक कक्षा सञ्चालन गराउने सम्झौता पेश गरेका छन्, उनले थपे, ‘यस्तो अवस्थामा सम्बन्धन दिनु हुँदैन ।’ चिकित्सा क्षेत्रको वेथिति सुधारकै लागि बरिष्ठ चिकित्सक गोविन्द केसी दशौं चरणको अनसनमा बसिरहेका छन् ।

डिप्लोमा कार्यक्रमका लागि भिभिन्न संस्थाले प्रस्ताव हालेका छन् ।  सम्बन्धन दिने विषयमा मंगलबार बैठक राखिए पनि परिषद् सदस्य र कर्मचारीहरूको विरोधले रोकिएको थियो । फेरिपनि कर्मचारी र सदस्यहरु आन्दोलनमा छन् । शिक्षामन्त्री पौडेलले बैठक राखेर सम्बन्धन दिने तयारी गरेका छन् । शैक्षिक सत्र सुरु भएको तीन महिनापछि यसै वर्षदेखि कार्यक्रम सञ्चालन हुने गरी सम्बन्धन दिन तयारी गरिएको बताइँदैछ ।

परिषदका केही सदस्यले भने मापदण्ड पूरा भएका संस्थालाई मात्रै सम्बन्धन दिने तयारी भएको बताएका छन् । कान्तिपुर कलेज अफ मेडिकल साइन्स सीतापाइलालाई एचए, एसियन फाउन्डेसन अफ एजुकेसन सातदोबाटोलाई रेडियोग्राफी, सुनसरी टेक्निकल कलेज धरानलाई एचए, रेडियोग्राफी, विराट हेल्थ कलेज विराटनगरलाई एचए, लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्सलाई एचए, सञ्जीवनी कलेज दाङलाई एचए, पब्लिक हिमाल सिरहालाई एचए, कान्तिपुर इन्स्टिच्युट हेल्थ साइन्स पोखरालाई रेडियोग्राफी र फार्मेसीको सम्बन्धन दिन लागिएको छ । यी कुनै पनि संस्थाको आफ्नो अस्पताल छैन ।

प्रयोगात्मकका लागि सबैले अरुकै अस्पताल देखाएका छन् । यसमध्ये दाङको सञ्जीवनी र सिरहाको पब्लिक हिमालले सरकारी अस्पताल देखाएका छन् । सीटीईभीटीले आम्दा अस्पताललाई एचए, अल्का अस्पताललाई एचए र ल्याब, एमिटी ग्लोबल एजुकेसन गोंगबुलाई फार्मेसी, स्कुल अफ मेडिकल ल्याब्रोटरीलाई फार्मेसी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई एचए, ल्याब, रेडियोग्राफी, फिजियोथेरापी, फार्मेसीको सम्बन्धन दिने प्रस्ताव तयार गरेको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थालाई फार्मेसी, रेडियोग्राफी, ल्याबको सम्बन्धन दिने तयारी भएको बुझिएको छ । यसैगरी, चितवन मेडिकल कलेजलाई फार्मेसी, डेन्टल, एसिया डेन्टल कलेज एन्ड टिचिङ अस्पताल वीरगन्जलाई डेन्टलको कार्यक्रम सञ्चालन गर्न अनुमति दिने तथा स्तुपा सहकारीलाई ल्याब, सहिद स्मारक जनस्वास्थ्य सहकारीलाई फार्मेसीको सम्बन्धन दिन लागिएको बताइएको छ । सरोकारवालाले यो सम्बन्धन दिए स्वास्थ्य क्षेत्रको विकृति अझ मौलाउने भन्दै चिन्ता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ