arrow

राष्ट्रपतिको १० मिनेटले जनकपुर तनावग्रस्त, २४ बढी घाइते, एकको अवस्था गम्भीर

logo
प्रकाशित २०७२ पुष १ बुधबार
jankpur.jpg.jpeg

काठमाडौं । धनुषाको जनकपुर धाममा भइरहेको विवाह महोत्सवमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा भागदौड मच्चिएको छ । भागदौडका क्रममा २४ बढी घाईते भएका छन् । घाइते हुने दर्शनार्थी र प्रदर्शनकारी दुबै छन् । घाइते एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको स्थानीय पत्रकार शैलेन्द्र झाले जानकारी दिएका छन् । गभ्भीर घाइते हुने ३० वर्षीया चमेली देवी दास हुन् ।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको तनाव जारी छ । स्थिति  नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीले विवाह महोत्सव भइरहेको रामजानकी मन्दिरको चारै गेटबाट ढुंगा बर्षाएपछि भाग दौड मच्चिएको प्रहरीले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी महोत्सवको दर्शन कार्यक्रमलाई लक्षित गरी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले पेट्रोल बम समेत प्रहार गरेका छन् ।

राष्ट्रपतिको १० मिनेट
काठमाडौंबाट हेलिकोप्टरमा जनकपुर पुगेकी राष्ट्रपति विद्या भण्डारी कडा सुरक्षाबीच मध्यान्ह १२ बजे रामजानकी मन्दिर प्रवेश गरिन् । मन्दिर दर्शनको समय जम्मा ५ मिनेट रहयो । ५ मिनेट सम्मान समारोहमा सरिक भएपछि १२ बजेर १० मिनेटमा राष्ट्रपतिको हेलिकोप्टर काठमाडौं उड्यो । त्यो १० मिनेटमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी  मात्र गरेनन् ढुंगा मुढा सहित पेट्रोल बम प्रहार गरेर वितण्डा मच्चाए । विवाह समारोह निकै बेर रोकियो । राष्ट्रपति धेरै बेर बस्ने अवस्था समेत रहेन । सुरक्षार्थ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी तीनै सुरक्षा निकाय खटिएका थिए । राष्ट्रपति फर्कि सक्दा समेत सेना र सशस्त्र हटेनन् । तनाव साम्य भएपछि विवाह महोत्सको कार्यक्रम जारी रहने छ ।
 

राष्ट्रपतिको साथमा को-को थिए ?
राष्ट्रपति विद्याभण्डारीसंग प्रधान सेनापति राजेन्द्र क्षेत्री, मध्यमाञ्चल क्षेत्रीय प्रशासक, सशस्त्र प्रहरीका एआइजी र जनपथ प्रहरीका डिआइजी जनकपुर पुगे । जसले मधेसी मोर्चाका कार्यकर्ता बढी आक्रोशित भए ।

राष्ट्रपतिको विरोध किन ?
राष्ट्रपति भण्डारीले यसअघि एमाले पूर्व उपाध्यक्षका हैसियतले १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको, मधेसलाई उपेक्षा गरेको संविधानको वकालत गर्दै हिँडेको र मधेसको समस्या समाधान गर्न शीर्ष दलहरुलाई कुनै आग्रह नगरेकैले जनकपुर प्रवेशमा रोक लगाउने निर्णय भएको थियो । मोर्चाका कार्यकर्ताले स्थानीय प्रशासनलाई समेत राष्ट्रपति भण्डारीलाई नबोलाउन भनेका थिए । यद्यपि, एमालेले जवरजस्ती राष्ट्रपतिलाई जनकपुर पठाएको भन्दै मोर्चाका कार्यकर्ताले वितण्डा मच्चाएका हुन् । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरण गर्दै विवाह पञ्चमी महोत्सव मनाउने परम्परा छ ।

सात दिने विवाह पञ्चमी महोत्सवको छैठौं दिन जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सीताबीच विवाह गर्ने परम्परा छ । जनकपुरको जानकी मन्दिरबाट निस्केको सीताको डोली र राम मन्दिर लाने तथा रामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयम्वर कार्यक्रम हुने गर्दछ । साेही मूल समारोहमा राष्ट्र प्रमुख अर्थात राष्ट्रपति उपस्थित हुने परम्परा छ । सधैका वर्ष झैं यसपटक समेत विवाह उत्सवमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौं संख्यामा जन्ती आएका छन् । पवित्र सरोवर गंगासागर, धनुषसागरसहितका जलासयमा स्नान गरी राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालु आउने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ