arrow

टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाको आवेदन, भिडन्तमा ‘म्याच फिक्सिङ'का दुवै आरोपीसमेत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
nepal-telecom-building.jpg

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन मंगलबार कार्यालय समयसम्म सो संख्यामा आवेदकले आवेदन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

यसरी आवेदन दिनेहरुमा अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, कमल लामिछाने, केदारनाथ कोइराला, चिन्तामणि बराल छन्न् । 

त्यस्तै नागेन्द्रकुमार दास, बुद्धिप्रसाद आचार्य, प्रेमप्रसाद सिलवाल, डा. विमल आचार्य, रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, सुवास साह, संगीता पहाडीसमेत प्रतिस्पर्धामा छन् । 

यसपटक प्रबन्ध निर्देशका म्याच फिक्सिङको चलखेल गरिरहेको आरोप लागेका डा. विमल आचार्य र अनिलकुमार झा दुवैले प्रबन्ध निर्देशकका लागि आवेदन दिएका छन् । 

त्यस्तै आवेदन दिने संगीता पहाडी टेलिकमकी निमित्त प्रबन्ध निर्देशक हुन् । उनले अघिल्लोपटक पनि प्रबन्ध निर्देशकको प्रतिस्पर्धामा भाग लिएकी थिइन् । 

टेलिकमले खुला प्रतिस्पर्धाबाट जेठ २२ गते नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि आवेदन खुलाएको थियो । उक्त आवेदन आह्वान गर्नुअघि प्रबन्ध निर्देशक नियुक्तिको योग्यतासम्बन्धी निर्देशिकामा परिवर्तन गरिएको छ । 

संशोधित निर्देशिकामा प्रबन्ध निर्देशकका लागि दरखास्त दिने उम्मेदवारको उमेर ५६ वर्षबाट बढाएर ५८ वर्ष पुर्याइएको छ भने व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने व्यवस्थासमेत हटाइएको छ । 

उता प्रबन्ध निर्देशकको आवेदनका लागि सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ गरेकाहरुलाईसमेत खुला गरिएको छ । यसअघि यो पदका लागि वाणिज्यशास्त्र, व्यवस्थापन, अर्थशास्त्र, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक इञ्जिनियरिङ, टेलिककम्युनिकेसन इञ्जिनियरिङ वा कम्युटर इञ्जिनियरिङ विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने प्रावधान थियो । 

यसरी चलखेल हुनुमा टेलिकमकै दशौँ तहका कर्मचारी विमल आचार्य र जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा रहेका छन् । अहिले सञ्चारमन्त्री रेखा शर्माको रोजाइ यीमध्ये एक हुने देखिएको छ । तर टेलिकमभित्रकै कर्मचारी संगठनहरु अमुक व्यक्तिका लागि निर्देशिका परिवर्तन गर्न लागिएको भन्दै अहिले विरोध गरिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ