arrow

केन्द्रीय समितिमा क्रियाशील सदस्यताबारे चर्का–चर्की, संसदीय समितिमा सभापतिमाथि आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०७२ पुष २ बिहिबार
NC-Meeting-.JPG.jpeg
काठमाडौं । पार्टीको आसन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न जारी  काँग्रेस केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएको  विवादमा चर्का चर्की भएको छ । 
 
बुधबारदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरुले सदस्यता वितरण पारदर्शी नभएको धारणा राखे ।  
अधिकांश केन्द्रीय सदस्यले प्रतिवेदनअनुरुप क्रियाशील सदस्यता वितरण मापदण्डाविपरीत रहेको भन्दै पुनरावलोकन गर्न माग गरे । केही सदस्यले प्रतिवेदनलाई जस्ताको त्यस्तै पारित गरिनुपर्ने मत राखे । 
 
विहिबारको छलफलमा प्रतिवेदनको समर्थक गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, मनमोहन भट्टराई, मीन विश्वकर्मा, डिना उपाध्याय, महेन्द्र यादव, रमेश रिजाल ठहरिए । यस्तै, दिलेन्द्रप्रसाद बडू, गुरुराज घिमिरे, प्रदीप पौडेल, कमला पन्त, अफ्ताव आलम, फरमूल्लाह मंसुर, र रत्ना शेरचनलगायत प्रतिवेदन पुनरावलोकन गरिनुपर्ने पक्षमा उभिए । 
 
पार्टीको विधानअनुसार क्रियाशील सदस्यता वितरण सम्बन्धमा गाउँ र नगरले प्रस्ताव गरी क्षेत्रमा पठाउने र क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गर्ने तथा जिल्लाले अनुमोदन गरी केन्द्रमा पठाउने प्रावधान छ । 
 
यद्यपि, केही नेताले आफू अनुकूल पार्टीको विधान संरचनाभन्दा बाहिर गएर सदस्यता बढाएको आरोप प्रत्यारोप छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको विधान र प्रक्रिया विपरित जिल्लागत रुपमा सदस्यता वितरणमा पारदर्शी नदेखिएकाले सो विषयमा अध्ययन र पुनरावलोकन गर्न नेताले माग गरेको बताए । 
 
प्रतिवेदनअनुसार पुराना तीन लाख १६ हजार ८ सय ६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्य छन् । पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छ । जसको आधारमा कूल सदस्य संख्या चार लाख ७० हजार पुगेको छ । बैठकले शुक्रबार दिउँसो २ बजेबाट निरन्तरता पाउने छ । 
 
संविधान संशोधनमा मोर्चाको खोजी
प्रमुख विपक्षी दल कांग्रेसले संसदमा पेश भएको संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाको समर्थन पर्खने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मोर्चाको समर्थनमा संविधान संशोधन अघि बढाउने निर्णय गरेको हो । बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाले तराई मधेसलाई समेत विश्वासमा लिएर संशोधन अघि बढाउने प्रस्ताव राखेका थिए । सभापति कोइरालाले कांग्रेसले अर्को बैठकमा सहमतिको बटमलाइन बनाउने जानकारी दिए । कांग्रेसको निर्णयले संविधान संशोधन विधेयक तत्काल पारित नहुने देखिएको छ । 
 
बैठकमा कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठले सत्तारुढ एमालेले संविधान संशोधन अघि बढाउन चाहेको सुनाए । कांग्रेस सांसद महेश आचार्यले संसदमा दर्ता भएको संशोधन प्रस्ताव सरकार र मन्त्रीले फिर्ता लिन नसक्ने बताउँदै थप सहमति खोज्नुपर्ने धारणा राखे । 
 
नेता विमलेन्द्र निधिले मधेसका जनताको विश्वास कांग्रेससँग रहेको जिकिर गर्दै उनीहरुलाई कांग्रेसले नै विश्वासघात गर्न नहुने तर्क गरे । संसदीय समिति बैठकमै केही समय बसेर सभापति कोइराला निस्कन खोज्दा सांसदहरुले आक्रोश पोख । सभापति कोइरालाले बिरामी छु र पछि छलफल गरौंला भन्दै बैठकबाट निस्कन खोजेका थिए । कोइराला बाहिरन खोजेकामा अर्जुननरसिंह केसी, रामहरि खतिवडा, अब्दुल रज्जाकले असन्तुष्टि पोखेका हुन् । 
 
सांसद खतिवडाले कतिपय एजेण्डामा एकमत हुन नसकेको तथा पार्टी र संसदीय दल लथालिङ्ग भएको तर्क गरे । कोइरालालाई लक्षित गर्दै खतिवडाले संसदमा कोही बस्ने, कोही उठ्नेसम्मका काम भएको सुनाउँदै यो लज्जास्पद विषय हो–भने । नेता केसी र रज्जाकले कांग्रेस प्रमुख विपक्षी भएर पनि संसदमा फितलो उपस्थिति भएको टिप्पणी गरे । फाइल:तस्वीर 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ