arrow

संसद् सेवा दिवस : नमुना संसद् बनाउन नमुना काम गरेर देखाऔँ–सभामुख घर्ती

कार्यालय सहयोगी नानीमैयालाई १ लाख पुरस्कार

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
onsari.jpeg

काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी र समयवद्ध कार्यान्वयनका लागि सबै पक्षको ध्यानाकर्षण गराएकी छन् ।

व्यवस्थापिका–संसद् सचिवालयले दशौँ संसद् सेवा दिवसको अवसरमा गरेको कार्यक्रममा सभामुख घर्तीले भनिन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा सँगै होमिएका राजनीतिक शक्तिले आपसमा मिलेर मुलुकमा अहिले देखिएका समस्या छिटो समाधान गर्ने छन् ।’

व्यवस्थापिका–संसदलाई थप सक्रिय, प्रभावकारी र अझ सशक्त तुल्याउने गरी काम गर्ने संसद् सेवाका कर्मचारीलाई निर्देशन दिँदै सभामुख घर्तीले थपिन्, ‘नमुना संसद् बनाउन नमुना काम गरेर देखाऔँ ।’

कानन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संविधान कार्यान्वयन गर्न दलबीच राष्ट्रिय एकता कायम गरी निर्वाचनलगायतका कानुन छिटोछिटो निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

व्यवस्थापिका–संसद् अर्थसमितिका सभापति प्रकाश ज्वालाले जनप्रतिनिधि र राष्ट्रसेवकको सहकार्यमा संसद् सेवालाई आकर्षक र सचिवालयलाई व्यवस्थित तुल्याउन आवश्यक रहेको धारणा राखे ।

नेपाली काँग्रेस सचेतक ईश्वरी न्यौपानेले संसद् र संसदीय समितिले लिने निर्णयले मुलुकमा ठूलो दूरगामी असर पार्ने भएकाले संसद् सेवाका कर्मचारीले अधिकारको कुरा उठाउँदा कर्तव्यको पक्षलाई कहिल्यै भुल्न हुन्न –भनिन् ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले अनुशासन र मर्यादामा रहेर दिएको जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।

सचिवद्वय हिमलाल सुवेदी र सोमबहादुर थापाले सचिवालयलाई आधुनिक र प्रविधियुक्त तुल्याउने तथा कर्मचारीलाई अनुभव, कार्यसम्पादन र अध्ययनका आधारमा मूल्याङ्कन गर्ने कार्यमा विभेद नहुने प्रतिबद्धता जनाए ।

समारोहमा सभामुख घर्तीले व्यवस्थापिका–संसद् सेवा स्मारिका वर्ष पाँच अङ्क ५ को लोकार्पण गरिन् ।

सो अवसरमा संसद् सेवामा वर्षभरिमा उत्कृष्ठ कार्यसम्पादन गरी पुरस्कार प्राप्त गर्ने कर्मचारीको नाम घोषणा गरियो ।

सर्वोत्कृष्ट पुरस्कार नानीमैयालाई
एक लाख राशिको संसद् सेवा सर्वोत्कृष्ट पुरस्कार कार्यालय सहयोगी नानीमैया धमनियाले पाएकी छन् ।

त्यसैगरी ७५ हजार राशिको संसद् सेवा उत्कृष्ट पुरस्कार कार्यालय सहयोगी मदन गिरी तथा जनही रु ५० हजार राशिको संसद् सेवा पुरस्कार हलुका सवारी चालकद्वय नृपध्वज बस्नेत र राजकुमार थापालाई प्रदान गरिने घोषणा गरियो ।

निजामती सेवाबाट २०५८ साल मङ्सिर २८ गतेबाट स्वायत्त भएपछि संसद् सेवा दिवस मनाउन लागिएको हो । प्रारम्भका केही वर्ष यो दिवस मनाउन नसकिएकोमा २०६३ सालदेखि मनाउन लागिएको हो । संसद् सेवामा हाल ३०० हाराहारीमा जनशक्ति रहेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ