arrow

मापसे गरेर मोटरसाइकल चलाए स्टार्ट नै नहुने

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
mapase.jpeg
पोखरा । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा स्टार्ट नै नहुने प्रविधिको पोखरामा सफल परीक्षण गरिएको छ । युवा आविष्कारक विकल्प ढुंगानाले मोटरसाइकल र स्कुटरका लागि नयाँ प्रविधिको आविष्कार गरेका हुन् ।
 
उनले हेलमेट नलगाएको र मापसे गरेको खण्डमा दुई पांग्रे सवारीसाधन आफैँ रोकिने वा स्टार्ट नै नहुने प्रविधिको आविष्कार गरेका ढुंगनाले दाबी गरे । उनले गरेको सफल परीक्षणलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले समेत प्रमाणित गरिदिएको छ । 
 
एक हप्तासम्म विभिन्न चरणमा गरिएको परीक्षणले उनले भने जस्तै नतिजा दिएको ट्राफिक प्रहरी कार्यालयका असई राजेश थापाले बताए । 
 
उनको प्रविधिको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले औपचारिक रूपमै परीक्षण सफल भएको जनाएका हुन । 
 
ढुंगानाले आफ्नो ‘साभाष’ नामक यो प्रविधिमा हेलमेटमा दुईथरी डिटेक्टरहरुको प्रयोग गरिएको बताए । उनको यो प्रविधिले सडक दुर्घटना न्युनीकरणमा उल्लेख्य भूमिका खेल्ने दाबी गरे । 
 
आफूले निर्माण गरेको प्रविधि मोटरसाइकल र स्कुटरमा जडान गर्दा करिब ७ हजार खर्च लाग्ने उनले बताए । “यो प्रविधिलाई धेरै सङ्ख्यामा हेलमेटसहित जडान गर्दा करिब ५ हजारमा खर्च लाग्छ,’ उनले भने । 
 
हेलमेटमा यो प्रविधि जडान भइसकेपछि हेलमेटबिना वा मापसे गरेको खण्डमा मोटरसाइकल र स्कुटरमा इन्डीकेटरले सङ्केत गरेर स्टार्ट नै नहुने प्रविधि आफूले जडान गर्ने उनले बताए ।
 
पोखरा मल्टीमोडेल कलेजका प्राचार्य कृष्ण केसीले विकल्प जस्ता प्रतिभाहरुलाई पलायन हुनबाट रोक्न सरकारीस्तरबाटै पहल हुनुपर्ने बताए । 
 
उता उक्त कलेजकै विज्ञान संकायका प्रमुख डा चन्द्रबहादुर  थापाले उनको प्रविधिलाई जनस्तरमा लैजान विस्तृत अध्ययन गर्नुपर्ने खाँचो औँल्याए ।
 
त्यस्तै राष्ट्रिय युवा परिषद् कास्कीका अध्यक्ष आशीर्वाद सुवेदीले ढुंगानालाई परिषदले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
गुरुचेला एजुकेशन नेटवर्कका कार्यकारी निर्देशक सुवास मल्लले पनि यस्ता प्रतिभाहरुलाई प्रवद्र्धन गर्न आफ्नो संस्था निरन्तर लाग्ने वचन दिए । 
 
तनहुँको मनपाङ घर भई विगत केही वर्षदेखि पोखरामा बस्दै आएका विकल्पले गत वर्षको युवा प्रतिभा पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । 
 
उनले गृहजिल्ला तनहुँ र काठमाडौँ, पोखरा जस्ता ठाउँहरूमा समेत आफ्ना आविष्कारहरुको प्रदर्शनी गरिसकेका छन् ।
 
यसअघि नै उनले हेलिकोप्टर, बम डिस्पोजेबल रोबर्ट, भूकम्प सूचक यन्त्र, म्यानुयल लोडिङ्ग एण्ड लिफ्टिङ्ग रोबर्ट, घाँस काट्ने मेसिन, धान ठटाउने रोबर्ट र फुटबल खेल्ने रोबर्ट लगायत डेढ दर्जन यन्त्रहरुको आविष्कार गरिसकेका छन् । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ