arrow

रजत विजेता रुजेश सम्मानित, शारीरिक सुगठनमा हाल सम्मकै उपलब्धी

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
rajat-bejeta-.jpg.jpeg
काठमाडौं । सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेका रुजेश शाही सम्मानित भएका छन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रबार गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य–सचिव केशवकुमार विष्टले शाहीलाई २ लाख १० हजार रुपैयाँको चेक र सम्मान पत्र प्रदान गरे । 
 
कुल रकम मध्ये शारीरिक सुगठन संघले २० हजार, संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ५० हजार, महासचिव दिनेश राजभण्डारी, कोषाध्यक्ष सागर वगाले, सदस्य सुनील राजकर्णिकार र सदस्य मोहनकृष्ण श्रेष्ठले समान २०–२० हजार तथा सचिव राजन श्रेष्ठ र सदस्य वकिलमाल तुलाधर उदासले समान १०–१० हजार नगद उपलब्ध गराएका थिए । त्यस्तै डिभाइन फिजिकल फिट्नेस सेन्टर, कालिमाटी, न्यु गोल्ड्स जिम, ललितपुर, सुनीता प्रधान तथा इरेन श्रेष्ठले समान १०–१० हजार प्रदान गरे ।
 
थाइल्यान्डको बैंककमा मंसिर ८ देखि १४ गतेसम्म भएको प्रतियोगिताको पुरुष ५५ केजीमा रुजेशले रजत पदक जितेका थिए । सो पदक नेपाली शारीरिक सुगठनको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो । २०६७ सालमा भारतको बनारसमा भएको दोश्रो संस्करणमा श्याम श्रेष्ठले कांस्य जितेका थिए ।
 
रुजेशले प्रतिस्पर्धा गरेको तौलसमूहमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा भारतले पहिलो हुँदा चीन तेश्रो भएको थियो । कार्यक्रममा सदस्य–सचिव विष्टले विश्व च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगितामा सहभागी हुन आफैमा ठूलो कुरा भएको बताउदै त्यसमा पनि पदक जित्नु गर्वको विषय भएको बताए । यस्तै, विश्व च्याम्पियनसिपको पुरुष ६० केजीमा चौथो भएका महेश्वर महर्जन र टिम प्रशिक्षक ज्ञानेन्द्र नकर्मी पनि सम्मानित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ