arrow

यो पो त समाचारको महत्वः बाबुको स्मृतिमा गाउँलेलाई पत्रिका पढाउँदै

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
newspaper.jpeg
बर्दिवास । महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती बेलगाछी गाउँका एक युवाले आफ्ना दिवङ्गत पिताको स्मृतिमा दैनिक पत्रिका गाउँलेलाई पढाउन लागेका छन् । सामाजिक र शैक्षिक जागरणका लागि गठित युवा सहयोगी समाज, बेलगाछीका अध्यक्षसमेत रहेका ३० वर्षीय युवा मन्नुकुमार साहले आफ्ना स्वर्गीय पिता ननिपत साहको स्मृतिमा पत्रिका किनेर ल्याएर गाउँलेलाई पढाउने काम सुरु गरेका हुन् । 
 
तराईको सुगम जिल्ला भएपनि शैक्षिक र सामाजिक जागरणको दृष्टिले अत्यन्त पिछडिएको आफ्नो गाउँमा देश दुनियाँको खबर सुनाउने उद्देश्यले पत्रिका किनेर गाउँलेलाई पढाउन (पढ्न दिन) थालिएको साहको भनाइ छ । 
 
“सम्पत्ति हुनेले यश र कीर्तिका लागि ठूलै धनराशि खर्चन्छन्”, साहले भन्नुभयो–“मैले भने आफ्नो थोरै क्षमताभित्र पत्रिका किनेर ल्याई गाउँलेलाई सुसूचित गराएर दिवङ्गत पिताको स्मृति ताजा राख्ने काम रोजेँ ।” 
 
साह अध्यक्ष रहेका युवा सहयोगी समाज, बेलगाछीमा आबद्ध अन्य सदस्यले पनि यो कामलाई नै बल पुग्नेगरी बेलगाछीको खाल्डेबजारस्थित समाजको कार्यालयमा सदस्यको सामूहिक सङ्कलनबाट राष्ट्रिय दैनिक गोरखापत्र र केही साप्ताहिक पत्रिका उपलब्ध गराउन थालेका छन् । 
 
साहले पिताको स्मृतिमा कान्तिपुर दैनिक र समाजले गोरखापत्रसहित अन्य पत्रिका गाउँमै ल्याइदिन थालेपछि सो बस्तीमा पत्रिका पढ्ने र पढ्न नसक्नेले अरूलाई पढ्न लगाएर देश दुनियाँको खबर बुझ्न थालेका छन् । 
 
साहले स्वर्गीय पिताको स्मृतिमा गाउँमै पत्रिका ल्याइदिन थालेका र उनी नेतृत्वको समाजले थप पत्रिकाको प्रबन्ध मिलाएर कम खर्चमा अत्यन्त उदाहरणीय काम सुरु गरेका बेलगाछीका सामाजिक अभियन्ता मिन रहपालको भनाइ छ । 
 
प्रायः काममा व्यस्त रहने सर्वसाधारणलाई समय निकालेर पत्रिका अध्ययन गराउन अभिप्रेरित गराउने उद्देश्यले समाजले यस्तो कदम उठाउनु अत्यन्त सराहनीय काम भएको अहिले बेलगाछीमा बाक्लै चर्चा छ । 
 
“राम्रो कामका लागि निकै धन चाहिने नभई राम्रो मन चाहिने कुरा साह र समाजले उदाहरण दिएका छन्”, सो गाउँकै बासिन्दा स्थानीय शान्ति समिति महोत्तरीकी संयोजक मञ्जु विश्वकर्माले भन्नुभयो–“समाज र साहको रचनात्मक यस्तै कामको सिको अरूले पनि सिकून् ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ