arrow

मोर्चा र काँग्रेसबीच संकट टुंग्याएर अघि बढ्ने सहमति

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Mahantha.jpg.jpeg
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई–मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा शनिवार बिहान उनीहरुबीच भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक सङ्कट यथाशक्य छिटो टुङ्ग्याएर अगाडि बढ्ने सहमति भएको थियो ।  सो अवसरमा नेपाली काँग्रेसले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकबाट आन्दोलनका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने सन्दर्भमा आधार तयार गर्ने भएकाले त्यसमा सहयोग गर्न मोर्चालाई आग्रह गरेको थियो । 

संशोधन विधेयकमा राज्यका प्रमुख अंगहरुमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने र हालको जिल्लाको इकाइलाई कम्तीमा पनि एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधान राखिएको छ । 

काँग्रेसले मोर्चालाई संशोधन विधेयकलाई थप परिमार्जन गर्न सकिने विभिन्न पक्षहरुका बारेमा जानकारी गराउँदै त्यसमा मोर्चासँग आवद्ध दलहरुको सहमति लिएर आउन आग्रह गरेको थियो ।  मोर्चाले भने संसदमा पेस भएको संशोधन विधेयकले आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने भएकाले प्रमुख मुद्दाका रुपमा रहेको प्रदेशको सीमासम्बन्धी विषयमा काँग्रेसको स्पष्ट जवाफ माग गरेको थियो । 

यद्यपि, काँग्रेसको उक्त प्रस्तावलाई मोर्चाले सकारात्मक लिँदै त्यसबारे आवश्यक छलफल गरेर आउने जवाफ दिएको थियो । नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न के–कस्ता विषयलाई कसरी समेट्न सकिन्छ भन्नेबारे छलफल भएको राससलाई जानकारी दिए । 

“संसद्मा पेस भएको संविधान संशोधन विधेयकमार्फत मोर्चाले उठाएका मागलाई कहाँ, कसरी समेट्न सकिन्छ, नमिलेको विषय के हो र कसरी मिलाउन सकिन्छ तपाईँहरुको स्पष्ट धारणा ल्याउनुस् भनेका छौँ, उहाँहरुले सरसल्लाह गरेर आउछौँ, भन्नुभएको छ,”– प्रवक्ता बडूले भने । 

नेपाली काँग्रेसले वार्ता, संवाद र सहमतिबाटै अहिलेको समस्या हल गर्न सकिने भएकाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न मोर्चालाई आग्रह गरेको थियो । मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले मोर्चाका नेताहरु काठमाडौँमै रहेको र उनीहरुले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग संविधान परिमार्जन सम्बन्धमा कुराकानी भएको जानकारी दिए । 

छलफलमा काँग्रेसका तर्फबाट पार्टी सभापतिसहित अन्य पदाधिकारी र मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ