arrow

सँगैरहेका बाबुरामतिर इसारा गर्दै प्रचण्डले भने, ‘उहाँको बहिर्गमन सामान्य लागेको छैन’

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
news-PM-chacha.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाबुराम भट्टराईको बहिर्गमन सामान्य नरहेको बताएका छन् । माओवादी केन्द्रका दिवंगत सांसद भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्री दाहालले सँगै रहेका नयाँ शक्ति पार्टी संयोजक भट्टराईतिर इसारा गर्दै भने, ‘संविधान त बन्यो । तर, यसले मात्रै एउटा युगको प्रतिनिधित्व गर्दैनथ्यो । संविधान कार्यान्वयनको चुनौतीपूर्ण कार्यभार बाँकी नै थियो । हामी बहस गर्दै साझा निष्कर्षमा पुग्न सक्थ्यौं । तर, बाबुरामजी हतारिनुभयो । उहाँको बहिर्गमन अहिले पनि मलाई सामान्य लागेको छैन ।’

बिमोचन कार्यक्रममा प्रधानमन्त्रीले जतिसुकै प्रयत्न भएपनि २०४७ सालतिर फर्काउन नसकिने ठोकुवा गरे । दाहालले भने, ‘संविधान कार्यान्वयन नभए हाम्रो के जान्छ र ? २०४७ साल नै ठीक थियो भन्नेसम्मका छलफल चल्न थालेका छन् । तर, अब मुलुक २०४७ तिर जाँदैन, जाने २०७४ तिरै हो । तर, माओवादी आन्दोलन र नेतृत्व कमजोर भयो भने जनताको मनोभावनालाई अराजकतातिर लैजाने प्रयत्न हुन्छ । त्यसबाट मुलूकलाई बचाउन पनि हामी एकतावद्ध हुनैपर्छ ।’

प्रधानमन्त्री दाहालले फेरि पनि जनयुद्धका उपलब्धि जोगाउन युद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताए । ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन शक्तिहरु एक हुनुको बिकल्प नभएको बताउँदै दाहालले भने, ‘जनयुद्धले गणतन्त्र त ल्यायो, नयाँ संविधान पनि आयो, संघीयता, समावेशिता, धर्म्निरपेक्षता जस्ता उपलब्धि पनि हासिल भए । तर, अहिले माओवादी शक्तिहरु केही कमजोर भएको देखेर यी उपलब्धिहरु उल्टाउन सकिन्छ कि भनेर कोसिस हुँदैछ । तसर्थ, जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धाराहरु एकतावद्ध हुनुको बिकल्प छैन ।’

नयाँ शक्ति संयोजक भट्टराई, माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, भक्तिप्रसाद पाण्डे पुत्र विश्वद्धीप पाण्डेले भक्तिप्रसादको जीवन आदर्शपूर्ण जीवन भएको भन्दै परिवर्तनको आन्दोलनमा ‘चाचा’ले विशिष्ट भूमिका निर्वाह गरेको चर्चा गरे । पाण्डेको केही महिना अघि मात्रै निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ